काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवाको गृहकार्य शुरु गरेको छ । प्रहरी नियमावलीले प्रहरी उपरीक्षक (एसपी) सम्मका प्रहरी अधिकारीको सरुवाको निर्णय गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई दिएको छ ।
गतबर्ष बाँकेमा ओमबहादुर राना, कैलालीमा अनुपम शमशेर जबरा, दाङमा गणेश चन्द, कपिलवस्तुमा नवराज अधिकारी, पश्चिम नवलपरासीमा अजय केसी, कास्कीमा जीवनकुमार श्रेष्ठ, तनहुँमा अरुण पौडेल, मोरङमा सन्तोष खड्का, सुनसरीमा कमल थापा, उदयपुरमा भिम दाहाल, इलाममा नवीन कुमार राई र धनकुटामा गोविन्द अधिकारीको सरुवा भएको थियो । उनिहरु सबैको निर्धारित एकबर्षे कार्यकाल पूरा भएपछी प्रहरी प्रधान कार्यालयले सरुवाको तयारी थालेको हो । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी संजिब शर्मा दास र लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी डम्बर बिकको पनि एकबर्षे कार्यकाल पूरा भइसकेको छ ।
त्यस्तै महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुखको जिम्मेवारीमा कार्यरत एसपी तारादेवी थापाको पनि एकबर्षे कार्यकाल पूरा भएको छ ।
प्रहरी प्रधान कार्यालयसम्बद्ध उच्च स्रोतका अनुसार कास्की प्रहरी प्रमुखमा एसपी रमेश थापाको सरुवा हुँदैछ । एसपी थापा हाल प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको सचिवालयमा स्टाफ अफिसरको जिम्मेवारीमा कार्यरत छन् ।
एसपीको लागि तराईका जिल्लामध्ये आकर्षक पोस्टिङ् मानिने बाँके, मोरङ र सुनसरीको लागि दर्जन बढी एसपी शक्तिकेन्द्रको दौडधुपमा लागेका छन् । उच्च स्रोतका अनुसार विशेष व्यूरोमा कार्यरत एसपी दानबहादुर कार्की जसरी भएपनि मोरङ अथवा बाँके जाने दाउमा छन् । तर आईजीपी शैलेश थापा क्षेत्रीले कर्मचारी प्रशासन शाखाका एसपी जनार्दन जिसिलाई मोरङ पठाउन चाहेका छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी संजयसिंह थापालाई सुनसरी पठाउने तयारी गरिएको छ ।
यस्तै बाँकेको लागि प्रवन्ध निर्देशनालयमा कार्यरत प्रेमबहादुर बस्नेतको नाम चर्चामा छ । बाँकेको लागि एसपीहरु बिनोद घिमिरे, दानबहादुर कार्की, वीरबहादुर बुढामगर, माधव श्रेष्ठ लगायतको नाम चर्चामा छ । प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहामा कार्यरत एसपी वीरबहादुर ओलीलाई दाङ अथवा कैलाली प्रहरी प्रमुखको जिम्मेवारी पाउने स्रोतले जानकारी दियो । एसपी प्रेम बस्नेतको बाँके सरुवा भए कपिलवस्तुमा ट्राफिक महाशाखाका एसपी श्यामकृष्ण अधिकारी जाने निश्चित देखिएको छ ।
गृहमन्त्रालयमा कार्यरत एसपी दिनेश मैनालीले तराइको कुनै जिल्ला प्रमुखको जिम्मेवारी पाउने चर्चा छ । पूर्वी नवलपरासीका एसपी प्रकाश मल्लले अवधि नपुग्दै आफै सरुवा मागेपछि त्यहाँ कसलाई पठाउने ? भन्ने बिषयमा पनि छलफल भइरहेको बुझिएको छ । सम्भवत यसै साता डीआईजी देखि डीएसपीसम्मको सरुवाको निर्णय हुने उच्च स्रोतको दावी छ ।
आईजीपी सचिवालयका एसपी रमेश थापाको कास्की सरुवा हुने भएपछि उनको स्थानमा एसपी दिलिप घिमिरेलाई खटाउने बिषयमा पनि छलफल भएको बुझिएको छ ।