काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मंगलबारको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गर्यो । सरुवा सुची अनुसार प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन विभागका प्रमुख रहेका एआईजी ठुले राई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा भए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका एआईजी पुष्कर कार्की प्रहरी प्रधान कार्यालय अन्तर्गतको कार्य एवं अपराध अनुसन्धान बिभाग पुगे । यस अगाडी प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान विभागमा दरबन्दी भएर राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा काजमा कार्यरत एआईजी धिरु बस्नेतको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा कायम गरियो । तर पनि उनलाई पुनः राष्ट्रिय सुरक्षा परिषद सचिवालयमै काजमा राख्ने मन्त्रीपरिषदको निर्णय बाहिरियो ।
एआईजी बस्नेत करिब पाँच महिना अगाडी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत हुँदा आर्थिक हिनामिनामा मुछिएपछी सरकारले उनलाई जिम्मेवारीबाट हटाएर छानबिनको लागि काजमा राष्ट्रिय सुरक्षा परिषदको सचिवालय पठाएको थियो । उनीमाथि प्रहरी प्रधान कार्यालयको प्रहरी निरिक्षणालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।
बुधबार बिहान हाम्रो पुलिस डट कमले एआईजी सरुवाको समाचार सार्वजनिक गरेसंगै मुलुकको सुरक्षा क्षेत्रमा हलचल मच्चियो । सरकारले पाँच महिनामै एआईजीको सरुवा गरेपछि मुलुकमा अनेक अड्कलबाजी चले।
अनेक अड्कलबाजी चलिरहदा हाम्रो पुलिस डट कमलाई बिश्वस्त स्रोतले दिएको जानकारी अनुसार मंगलबारको मन्त्रीपरिषद बैठकमा गृहमन्त्री रामबहादुर थापा 'बादल' ले नेपाल प्रहरीका एआईजी सरुवाको लागि ठाडो प्रस्ताव पेश गरेको खुल्न आएको छ। स्रोतका अनुसार सरुवा भएमध्येका एकको नाम एउटा जघन्य अपराधसंग जोडिएको छ ।
'एकजना एआईजीको कनेक्सन खुंखार आपराधिक समुहसंग जोडिएको अनुसन्धानमा देखियो, प्रहरीकै रिपोर्टअनुसार गृहमन्त्रीज्युको ठाडो प्रस्तावमा अनुसन्धानको लागि सरुवा गरिएको हो ।' गृह मन्त्रालयसम्बद्ध एक उच्च अधिकारीले भने।
यद्यपि गृहका ती उच्च अधिकारीले सरुवा भएमध्येका कुन एआईजीको त्यस्तो किसिमको आपराधिक समुहसंग कनेक्सन देखिएको हो भन्ने बिषयमा बिस्तृत खुलाउन चाहेनन् । 'गम्भीर रुपमा अनुसन्धान शुरु भएको छ, अनुसन्धान सकिएपछि सबै थाहा पाउनुहुन्छ ।' उनले भने।