काठमाडौं । केही साताअघि काठमाडौंमा चिनियाँ ह्याकरले नेपाली बैंकको सर्भर नै ह्याक गरी एटीएम बुथबाट करोडौं रुपैयाँ निकालेको घटनापछि महानगरीय अपराध महाशाखा काठमाडौंले यस्तो घटना अनुसन्धानका लागि विशेष अनुसन्धान टोली नै गठन गर्यो ।
सो क्रममा केही चिनियाँ पक्राउ परेपछि जनमानसले यो घटनालाई विस्तारै बिर्सन थाले पनि प्रहरीले भने यस्तो घटना फेरि घट्ने आशंकाका साथ आफ्नो अनुसन्धान तीव्र पारिरहेको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार सोही क्रममा ह्याकरहरूको निशानामा अन्य नेपाली बैंकहरू रहेको र उनीहरूलाई विभिन्न तरीकाबाट बैंकबाट ह्याक गरी रकम निकालिरहेको प्रहरीको अनुसन्धान टोलीले चाल पाएको थियो ।
प्रहरीकै जानकारीपछि कृषि विकास बैंकको करोडौं रुपैयाँ चोरी भएको घटना सामुन्ने आयो । ह्याकरको समूहले सिस्टम ह्याक नै उक्त रकम चोरी गरेको थियो । प्रहरी पनि सिस्टम ह्याकिङ र रकम चोरी गरिरहेको समूहको खोजीमा थियो । सो क्रममा कृषि विकास बैंकको लहान शाखाबाट रकम चोरी भएको थाहा पाएसँगै प्रहरीले ह्याकरको समूहका केही व्यक्तिलाई पक्राउ गर्न सफल भयो ।
१२ जना पक्राउ
प्रहरीले बुधवार काठमाडौंमा ह्याकिङमार्फत बैंकको रकम चोरी गरिरहेका ४ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ४३ वर्षका लवाङ तामाङ, ४० वर्षीया लक्ष्मी लामा तामाङ, २६ वर्षीय सञ्जय घले, २० वर्षीया निर्मला तामाङ, १८ वर्षीय निमा तामाङ, ४२ वर्षीय पुष्पराज खड्का, २३ वर्षका विद्यासागर लामिछाने, ३८ वर्षका श्रवणकुमार श्रेष्ठ, ३२ वर्षकी सुनीता श्रेष्ठ, २२ वर्षका विजय साह, ४५ वर्षका चन्द्रबहादुर बुढा र ३० वर्षीय भारतीय नागरिक शुबन्कर पन्जा रहेका छन् । बाँकीलाई काठमाडौंमा ल्याउने र अदालती प्रक्रिया थालिने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।


महाशाखाका अनुसार उनीहरूको साथबाट ४० लाख ५० हजार रुपैयाँ बरामद भएको । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरी चोरी भएको र अरू ह्याक भएको रकमबारे अनुसन्धान भइरहेको छ । त्यस्तै काठमाडौंको नयाँ बानेश्वर पानस रेमिटबाट रू. १२ लाख ह्याक भएको छ ।
नेपाली बैंकको अर्बौं रकम ह्याक गरी लुट्ने योजना !
महाशाखाका प्रमुख एसएसपी थापाका अनुसार विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थालाई ह्याक गरी रू. ५ अर्ब (५० मिलियन डलर) भन्दा बढी रकम लैजाने योजना बनाएका थिए । त्यसका लागि उनले नेपालका मानिसहरुसँग सम्पर्क गरी भारतमा नै बोलाई मिटिङ तथा कमिशनको डिल गरेका थिए । विभिन्न बैंक तथा वित्तीय संस्थाको ह्याक गरेको रकम विभिन्न नेपाली व्यक्तिहरुको नाममा निकाली १५ देखि ३५ प्रतिशत कमिशन दिई बाँकी रकम हुण्डि मार्फत पुनः भारत पठाउने उनको योजना रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।


उनले नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरुको ‘क्रेडिन्सिएल हाकिङ’ गरी रकम निकालिरहेको अवस्थामा महाशाखाको विशेष अनुसन्धान टोलीले शंकास्पद व्यक्तिहरुलाई उपत्यका तथा उपत्यकाबाहिरका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ । महाशाखाका प्रमुख थापाले यस घटनामा बैंककै कर्मचारीहरुको संलग्नता रहे-नरहेको बारे अनुसन्धान भइरहेको जानकारी दिए ।