काठमाडौं । महानगरीय अपराध महाशाखाले कृषि विकास बैंक ह्याकिङ प्रकरणमा १२ जनालाई पक्राउ गरेको छ । महाशाखाका अनुसार पक्राउ पर्नेमा ४३ वर्षका लवाङ तामाङ, ४० वर्षीया लक्ष्मी लामा तामाङ, २६ वर्षीय सञ्जय घले, २० वर्षीया निर्मला तामाङ, १८ वर्षीय निमा तामाङ, ४२ वर्षीय पुष्पराज खड्का, २३ वर्षका विद्यासागर लामिछाने, ३८ वर्षका श्रवणकुमार श्रेष्ठ, ३२ वर्षकी सुनीता श्रेष्ठ, २२ वर्षका विजय साह, ४५ वर्षका चन्द्रबहादुर बुढा र ३० वर्षीय भारतीय नागरिक शुबन्कर पन्जा रहेका छन् ।


बुधवार काठमाडौंमा महाशाखाले एक कार्यक्रम आयोजना गरेर ४ जनालाई सार्वजनिक गरेको छ । बाँकी दुई जनालाई कैलालीबाट पक्राउ गरिएको र काठमाडौंमा ल्याइँदै गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनका अनुसार विदेशी नागरिक काले भन्ने पिटरले लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थालाई ह्याक गरी रू. ५ अर्ब (५० मिलियन डलर) भन्दा बढी रकम लैजाने योजना बनाएका थिए ।

उनले नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरुको ‘क्रेडिन्सिएल हाकिङ’ गरी रकम निकालिरहेको अवस्थामा महाशाखाको विशेष अनुसन्धान टोलीले शंकास्पद व्यक्तिहरुलाई उपत्यका तथा उपत्यकाबाहिरका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका प्रमुख थापाले यस घटनामा बैंककै कर्मचारीहरुको संलग्नता रहे/नरहेको बारे अनुसन्धान भइरहेको जानकारी दिए ।