काठमाडौ । नेपाल प्रहरी र आइसीआरसीको संयुक्त आयोजनामा एसियाकै पहिलो प्रहरी सम्मेलन काठमाडौंमा शुरु भएको छ। काठमाडौंको म्यारिओट होटेलमा शुरु भएको तीन दिवसीय ‘एसिया पुलिस कोलोकियम २०१९’ को प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले उद्घाटन गरेका छन्।
खनालले सम्मेलनमार्फत् समकालीन चुनौति र अवरोधहरूको पहिचान गरेर शान्ति सुरक्षा कायम गर्ने उद्देश्य र त्यसलाई समयमै सम्बोधन गर्न संयुक्त प्रयास भएको उल्लेख गर्दै त्यसको लागि सबैको प्रतिबद्धता, सहयोग र समन्वय आवश्यक रहेको बताए ।
सम्मेलनमार्फत् दण्डहिनता, सुरक्षा चुनौति र आतंकवादको विरूद्ध लड्न सुरक्षा संगठनहरु माझ मजबुत सहयोग र समन्वयको आदान प्रदान हुने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले विभिन्न १५ देशका उच्च सुरक्षा पदाधिकारीको सहभागिता भएको यस सम्मेलनले सुरक्षा निकायहरूबीच सहयोग र समन्वयका साथ त्यस्ता गतिविधि रोक्ने र न्यूनीकरण गर्ने अभियानमा कदम चाल्ने विश्वास व्यक्त गरे ।
राम्रो विचार र रणनीतिक योजनाका लागि एउटा मञ्च प्रदान गर्दै अपराधीहरुलाई कानुनको दायरामा ल्याउने र सम्भावित अपराधहरुलाई रोक्ने सबैको लक्ष्य रहेको खनालको भनाइ छ । खनालले प्रविधिमा भएको प्रगतिसँगै केही व्यक्ति, समूह र संगठनहरूको खराब मनसायले विभिन्न चुनौति र अवरोधहरू देखिएकोले त्यस्ता क्रियाकलाप रोक्न सबै राष्ट्रहरु एकजुट भई दृढ प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्ने बताए ।
खनालले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका, आतंकवाद नियन्त्रण, अन्तरदेशीय अपराध रोकथाम, संगठित अपराध, लागूऔषध नियन्त्रण, हातहतियार ओसार पसार नियन्त्रण, साइबर अपराध, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण, वर्तमान अवस्थामा देखिएका सुरक्षा चुनौतिविरुद्ध प्रहरी सक्रिय रहेको महानिरीक्षक खनालको दावी थियो।
कार्यक्रममा आईसीआरसी नेपालका मिसन प्रमुख आन्ड्रे पाक्केटले सम्मेलन सम्बन्धी तथा आईसीआरसीले गरेको विविध गतिविधिबारेमा जानकारी दिए । सम्मेलनमा नेपाल समेत गरी १५ एसियन राष्ट्रहरुका २५ जना वरिष्ठ प्रहरी अधिकारीहरुको सहभागिता रहेको छ। यो सम्मेलन तीन दिनसम्म चल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।