काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न नेपाल प्रहरीका जवान-अधिकृत फ्रन्ट लाइनमा खटिएका छन् । निषेधाज्ञा कार्यान्वयन गराउन, नेपाल-भारत सीमा नाकाबाट भित्रिनेहरूको व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङमा प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर हालसम्म ४८ हजार ३९ जना प्रहरी कर्मचारीहरु परिचालित गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले जानकारी दिए ।
उनीहरुले सचेतना फैलाउने, निषेधाज्ञा कार्यान्वयन गराउने, यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन सहयोग गर्ने, विभिन्न स्थानमा हेल्थ डेस्कमा रहेर काम गर्दै आएका छन् ।
१० हजार १०७ वटा अक्सिजन सिलिन्डर संकलन
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म १० हजार १०७ वटा अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये ३ हजार ५ सय ७६ वटा भरिएका र ६ हजार ५ सय ३१ वटा खाली सिलिन्डर रहेका छन् ।
संकलन गरिएका सिलिन्डरमध्ये सोमबारसम्म ९ हजार ३ सय ७८ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । साथै ७ सय २९ वटा अक्सिजन सिलिन्डरहरु स्टक रहेका छन् । गत वैशाख २६ गतेदेखि हालसम्म उक्त सिलिन्डरहरु संकलन गरिएको हो ।
आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका उक्त अक्सिजन सिलिन्डरहरु संकलन गरिएको प्रवक्ता कुँवरले बताए ।
४ लाख ४२ हजार ३०१ जनालाई नि:शुल्क मास्क वितरण
नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले संचालन गरेको ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत हालसम्म ४ लाख ४२ हजार ३ सय १ जनालाई नि:शुल्क मास्क वितरण गरेको छ ।
संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोरोनाको जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।
निषेधाज्ञा उल्लंघन गर्ने १ लाख १ हजार २६४ सवारी साधन प्रहरीको नियन्त्रणमा
पछिल्लो समयमा विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा हालसम्म निषेधाज्ञा उल्लंघन गर्ने १ लाख १ हजार २ सय ६४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ३३ हजार ३ सय ७८ वटा गाडी र ६७ हजार ८ सय ८६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई होल्ड गरेर छोडिने गरिएको प्रवक्ता कुँवरले जानकारी दिए ।
त्यस्तै प्रहरीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने हालसम्म २२ हजार ५ सय ३७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ लाख १५ हजार ५ सय २९ रुपैयाँ जरिवाना गरेको छ । साथै ३ लाख ६ हजार २ सय ६८ जनालाई होल्डमा रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।
साथै देशभर गरिएका ८ हजार ९ सय ११ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत हालसम्म १३ लाख ७३ हजार ६० जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।