काठमाडौं । सीमा सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको सशस्त्र प्रहरी बलले अब बोर्डर आउट पोष्ट (बीओपी) मा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) लाई पनि कमान्डरका रुपमा खटाउने भएको छ ।
गत २४ चैतमा मानवस्रोत विभागले पठाएको पत्रलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयले ३ जेठमा स्वीकृत गरेपछि सई पनि बीओपीपति बन्ने बाटो खुलेको हो ।
मानवस्रोत विभागले ५ जेठमा यसको जानकारी मातहतका सबै निकायलाई पठाइसकेको छ । यो विषयमा सशस्त्र मुख्यालयले चैतमै बाहिनीपतिहरुको राय सुझावसमेत मागेको थियो ।
सशस्त्र प्रहरी बलका सई यसअघि कुनै पनि कार्यालयको इन्चार्ज नहुने गरेकोमा उनीहरुलाई पनि सीमा सुरक्षा जस्तो महत्वपूर्ण कार्यालय बीओपीको इन्चार्जको जिम्मेवारी दिन लागिएको हो । यसअघि बीओपीको इन्चार्जका रुपमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) रहने गरेका थिए ।
सशस्त्रमा हाल बीओपीका २१८ ओटा कार्यालय छन् । जसमध्ये ५१ ओटाको नेतृत्व सई र १६७ ओटाको नेतृत्व अब इन्स्पेक्टरले गर्ने भएका छन् ।
सशस्त्रका सईहरुले अब पाँचथर, इलाम, झापा, मोरंग, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, दांग, बर्दिया, कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा र दार्चुलाको बीओपीको नेतृत्व गर्नेछन् ।
पाँचथरमा तीन, इलाममा ६, झापामा ६, मोरंगमा दुई, सुनसरीमा एक, सप्तरीमा दुुई, सिरहामा दुुई, धनुुषामा एक, महोत्तरीमा दुुई, सर्लाहीमा तीन, रौतहटमा एक, बारामा तीन, पर्सामा पाँच, दांगमा तीन, बर्दियामा एक, कैलालीमा तीन, कञ्चनपुरमा तीन, बैतडीमा एक, डडेल्धुरामा दुुई र दार्चुलामा एउटा बीओपीको नेतत्व अब सईको हातमा गएको छ । यो समाचार आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले लेखेका छन् ।