काठमाडौं । हाललाई अध्ययनकै विषय रहेको कोभिड संक्रमितको उपचारका लागि नेपाल एपिएफ अस्पतालमा लगातार फोन आईरहेका छन् । सम्बन्धित चिकित्सकले फोनबाटै बिरामीको अवस्था बुझी आवश्यक परामर्श र सल्लाह दिइरहनु भएको छ । बिरामीको स्वास्थ्य अवस्था हेरी अस्पतालमा उपचार समेतको व्यवस्था मिलाउँदै आएका छौं ।
नेपालमा कोभिडको प्रकोप अहिले ह्वात्तै बढेको छ । यो जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपले पालना नगरेर हो या अन्य कारण भन्ने विषय हाललाई अध्ययनकै विषय बनेको छ । नेपालमा कोभिड महामारी यसरी फैलिन्छ भन्ने पूर्वानुमान थियो । त्यसैले नै यस अस्पतालमा एचडीयु लगायतका सेवासँगै अक्सिजन प्लान्टसमेत जडान गरिएको छ । कोभिडको पहिलो चरणको पाठलाई हेरेर नेपालले आवश्यक तयारी गरे पनि संक्रमितको संख्या उल्लेख्य मात्रामा बढेकोले उपलव्ध साधन स्रोतले धान्न नसक्ने अवस्था सिर्जना भएको हो ।
हाम्रो अनुभवमा दोस्रो लहरको कोभिडमा पहिलेको भन्दा संक्रमण क्षमता बढी देखिएको छ । तर संक्रमितको मृत्यु हुनुमा मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घ रोगका साथै बृद्ध अवस्था कारण देखिएको छ । समयमै उपचार पाए क्यान्सर लागेका, मृगौला फेल भएका विरामी पनि संक्रमणबाट मुक्त हुन्छन्, भएका पनि छन् । यहाँबाट उपचारपश्चात् निको भई घर फर्किएका संक्रमितमध्ये केही क्यान्सरका बिरामी र मृगौला फेल भएका बिरामीसमेत छन् ।
कोभिड विरुद्वको खोप नलगाएका व्यक्तिमा भन्दा खोपको पहिलो मात्रा लिएकामा खतरा कम भएको पनि देखिएको छ । हालसम्मको तथ्यांकंलाई आधार मान्ने हो भने दुबै मात्रा खोप लगाएका व्यक्तिमा संक्रमण भएता पनि सामान्य किसिमका लक्षण देखिने तर जटिलता भने कम हुने गरेको पाइएको छ । त्यस्तै एक पटक संक्रमण भईसकेकोलाई पुनः संक्रमण हुने सम्भावना भए पनि संक्रमण भएको ३ देखि ६ महिनासम्म पुनः संक्रमणको जोखिम कम रहेको बिभिन्न अध्ययनले देखाएको छ । कोभिड रोकथामका लागि एपिएफ अस्पतालले जनचेतनामुलक कार्यक्रम, खोप र उपचार सेवाका साथै परीक्षण सेवा निःशुल्क सञ्चालन गर्दै आईरहेको छ ।
बिरामीको अवस्थाको आधारमा वार्डका साथै एचडीयु र आईसियु सेवा समेत दिँदै आएका छौं । ८ भेन्टिलेटरसहित, २० शैय्या आईसियु, ५० शैय्या एचडियु र १ सय ३० शैय्या जनरल वार्ड गरी २ सय शैय्याको कोभिड अस्पतालको रुपमा यसलाई सञ्चालन गरी रहेका छौं ।चिकित्सकलगायत उपचारमा संलग्न सम्पूर्ण कर्मचारीले पहिलो लहरको कोभिडमा १५ दिनको आवासिय डिउटी गरेका थिए । हालको दोस्रो लहरमा ७ दिनको आवसिय डिउटी गरि रहेका छन् । बिरामीको अत्याधिक चाप रहेकाले अक्सिजन, फोहरमैला व्यवस्थापन, मानव संसोधनको कमीजस्ता समस्याका बावजुद गत वैशाख २ गतेदेखि हालसम्म मात्रै २ हजार ७ सय ४८ जना संक्रमितको सफलतापूर्वक उपचार गरिसकेका छौं । दोस्रो चरणको कोभिडमा संक्रमितको संख्या नै अत्याधिक देखिएको छ ।
त्यही अनुपातमा जटिल संक्रमित बढिरहेकाले अक्सिजनको आवश्यकता परिरहेको छ । अक्सिजन अभावका कारण देशभरका संक्रमित प्रभावित भएका छन् । तसर्थ अक्सिजन जेनेरेटर-प्लान्ट, सिलिण्डरहरूको संख्यामा बृद्धि गरि आवश्यकताअनुसार वितरण गरिनु जरुरी छ । कोभिडको चेन ब्रेकको लागि सामाजिक दुरी, मास्क र गुणस्तरिय स्यानिटाईजरको प्रयोग, बारम्बार साबुन पानीले हात धुने, खोप लगाउने संक्रमितहरू बाहिर ननिस्की आईसोलेसनमा बस्ने र संक्रमितको सम्पर्कमा आएकाहरू क्वारेन्टिनमा बस्ने, भिडभाड नगर्ने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्नैपर्छ ।
कोभिड संक्रमितको संख्या बढ्न नदिन जनस्वास्थ्यका मापदण्डलाई पुर्ण रुपमा पालना गर्नुको साथै संक्रमितहरूको उचित व्यवस्थापन गर्नुपर्छ । यो विषम परिस्थितिमा नेपालमा उपलव्ध साधन स्रोत र स्वास्थ्यकर्मीलाई उच्चतम परिचालन गर्दै सामुदायिक सहभागिता गराएर बिभिन्न माध्यमद्वारा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे कोभिड रोकथाम तथा नियन्त्रणमा सहज हुनेछ । अन्यथा यो महामारीले थप भयावह स्थिति ननिम्त्याउला भन्न सकिन्न ।
संक्रमित दिन प्रतिदिन बढिरहेकाले अक्सिजनको जोहो गरी अक्सिजनसहितका बेडको संख्या थप गर्नु आवश्यक छ । हाल उपलव्ध बेडमै पनि अक्सिजन उपलव्ध गराइए उपचारमा सहज हुनेछ । सरकारी तथा गैह्र सरकारी अस्पतालका बीच संक्रमितको उपचारको लागि आवश्यक समन्वय उत्तिकै आवश्यक छ ।
अस्पतालबाहिर आईसोलेसनमा रहेका संक्रमितहरू नियमित रुपमा स्वास्थ्यकर्मीको सम्पर्कमा बस्नुपर्छ । स्वास्थ्यमा जटिलता देखिए तुरुन्त अस्पताल जाने व्यवस्था मिलाइनुपर्छ । संक्रमितको स्वास्थ्यमा समस्या आए नजिकको कोभिड अस्पतालको इमर्जेन्सीमा पुगे उपचार पाइन्छ । सम्पूर्ण निजी अस्पतालले नेपाल सरकारसँग आवश्यक समन्वय गरी सर्वसुलभ रुपमा उपचारको व्यवस्था मिलाउनु पर्छ। - नेपाल समाचारपत्रबाट साभार