तम्घास । गतमहिना प्रहरी प्रधान कार्यालयले गुल्मीका तत्कालीन प्रहरी प्रमुख एसपी प्रवीणलाल श्रेष्ठको अकस्मात् सरुवा गर्यो। कमाण्ड कन्ट्रोलमा कमजोर तथा आर्थिक असुलीमा लिप्त भएको गुनासोपछि आइजीपी शैलेस थापा क्षेत्रीले एसपी श्रेष्ठलाई गुल्मी प्रहरीको कमाण्ड सम्हालेको करिब सात महिनामा सरुवा गरेर प्रहरी प्रधान कार्यालयको कानुन शाखामा कार्यरत एसपी गोपालचन्द्र भट्टराईलाई गुल्मी प्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए।
गत बर्ष सर्लाही प्रहरी प्रमुखको रुपमा सफलतापुर्वक जिम्मेवारी पूरा गरेर कानुन शाखामा कार्यरत व्यावसायिक प्रहरी अधिकृतको परिचित एसपी भट्टराईलाई गुल्मीमा घटेका पुराना जघन्य अपराधको अनुसन्धान, व्यावसायिक पुलिसिङ तथा यसअगाडीका जिल्ला प्रहरी प्रमुखले बिगारेको प्रहरी र नागरिक बिचको सम्बन्धमा सुधार ल्याउने अपेक्षाका साथ प्रहरी प्रधान कार्यालयले गुल्मी प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो।
जिल्लाको प्रहरी नेतृत्व असल, इमानदार र व्यावसायिक भइदियो भने जिल्लाको शान्ति सुरक्षा तथा अपराध अनुसन्धान, कमाण्ड कन्ट्रोल र प्रहरी, नागरिक सम्बन्ध मजबुत हुन समय लाग्दैन भन्ने दृष्टान्तलाई एसपी भट्टराईले पुनः एकपटक पुष्टि गरिदिएका छन्। सरुवा भएर गुल्मीमा पदभार ग्रहण नगर्दै एसपी भट्टराईले काठमाडौंबाट टेलीफोनमार्फत विभिन्न निर्देशन दिएर गुल्मी रेसुङ्गा नगरपालिका ३ भाडगाउँकि २१ बर्षिय सम्झना बोहराको हत्याकाण्डको सफल अनुसन्धान गर्न गुल्मी प्रहरी सफल भएको थियो। उक्त घटनामा गुल्मी प्रहरीले फागुन १९ गते मृतक सम्झनाकै ससुरा नाता पर्ने घटनाका मुख्य अभियुक्त ४७ बर्षिय लालबहादुर खत्रीलाई पक्राउ गर्न सफल भएको थियो। त्यो बेला एसपी भट्टराईको निर्देशनमा जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तम पाण्डेले अनुसन्धानको नेतृत्व गरेका थिए।
त्यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीले करिब दुई महिना अगाडिको एक रहस्यमय बनेको गोली हानेर गरिएको हत्यासम्बन्धि घटनाको अनुसन्धानमा समेत सफलता हात पारेको छ। एक अवैध हतियार प्रयोग गरेर रेसुङ्गा नगरपालिका-१४ निवासी ४७ वर्षका तुलबहादुर बिकलाई हत्या गर्ने गुल्मीदरवार गाउँपालिका-१ का ३१ वर्षीय पोमबहादुर घर्तीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेर आज (आइतबार) सार्बजनिक गरेको छ।
अभियुक्त घर्तिले गत माघ ३ गते दरवार गाउँपालिका-१ ओरेवा खोलामा घाँस काट्न गएका बिकलाई भरुवा बन्दुकले हानी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।
हत्या गरि गाउँमै रहेका अभियुक्त घर्तीलाई ५७ दिनपछि मात्रै प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको हो। हत्या गर्ने अभियुक्तले सिकार खेल्ने क्रममा बन्दुकबाट गोली प्रहार गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । अभियुक्त घर्तीको बयानकै आधारमा आज नै अनकन्टार जंगलमा लुकाइ छिपाई राखेको भरुवा बन्दुक समेत बरामद गर्न सफल भएको छ। गुल्मी प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै एसपी भट्टराईले जिल्लामा घटेका विभिन्न पुराना घटनाको अनुसन्धानलाई तिब्रता दिएका छन्।