काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ । कार्यालयले शुरु गरेको अभियानको दोस्रो सातासम्म विभिन्न स्थानबाट १२ फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना फर्स्यौटका लागि जिल्ला अदालतमार्फत कारागार पठाएको छ ।
प्रहरी प्रधान कार्यालय तथा प्रदेश प्रहरी कार्यालयको फरार प्रतिवादी खोजतलास ‘कारवाही’ अन्तर्गत काभ्रेपलाञ्चोकमा अभियानका रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । “सर्वोच्च र जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेका छौँ, यो अभियान निरन्तर सञ्चालन गर्छौँ”, उनले भने । उनका अनुसार विभिन्न मुद्दामा फैसला भई ‘पुनरावेदन’ नहुने मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गर्दै पक्राउ गरिएको हो । कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली खटाएको छ ।
“तत्तत् निकायले उपलब्ध गराएको लगतका आधारमा सबैलाई पक्राउ गरिएको छ, यसलाई शतप्रतिशत उपलब्धि मानेका छौँ”, खत्रीले भने । उनका अनुसार फागुन यता हालसम्म १२ फरार प्रतिवादी पक्राउ परेका छन् । गत माघ पहिलो साता काभ्रेपलाञ्चोक जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका खत्रीले आफू ‘अपराध नियन्त्रणका लागि खरो उत्रने’ बताए ।
कार्यालयका अनुसार फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन छ जना पक्राउ परेका छन् । जसमध्ये तीन वर्षदेखि लागुऔषध मुद्दामा छ महिना कैदा फैसला भएका फरार बनेपा नगरपालिका-१२ गोठडाँडाका ४३ वर्षीय टीकाबहादुर तामाङ, पाँच वर्षअघि केही सार्वजनिक अपराध मुद्दामा जरिवाना असुल फैसला सुनाइएका मण्डनदेउपुर नपा-६ का ३१ वर्षका महेश राई र २८ वर्षीय राजन राई, चार वर्षअघि सवारी ज्यान र सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दुई वर्ष ११ महिना कैद फैसला सुनाइएका पनौती नपा-२ का दीपेन्द्र हुमागाइँ, सात वर्षअघि घर भत्काउने मुद्दामा जरिवाना सुनाइएका बनेपा नपा-१४ का ४८ वर्षीय तिलकबहादुर राई र ठगी मुद्दामा जरिवाना फैसला सुनाइएका धुलिखेल नपा-१ का ३९ वर्षीय यादव घोरासैनी छन् ।
प्रहरीले गत सोमबार लागुऔषध मुद्दामा छ वर्षदेखि फरार प्रतिवादी रोशी गाउँपालिका-११ का २९ वर्षीय राजीव भन्ने मणिराज श्रेष्ठलाई पक्राउ गरी कैद तथा जरिवाना बेरुजू फर्स्यौटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरेको थियो । गत हप्ता पनि प्रहरीले अभियान शुरुआतमा विभिन्न मुद्दाका फरार अन्य पाँच फरार प्रतिवादीलाई पक्रेको थियो । उनीहरूलाई फरार प्रतिवादी खोजतलासका क्रममै पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिसकेको छ । कैद भुक्तानका लागि अदालत पठाइएकामा वनपैदावार हानी-नोक्सानी, सवारी दुर्घटना गराई अङ्गभङ्ग गराएको, जातीय छुवाछूत तथा भेदभाव मुद्दामा संलग्नलाई कैद र जरिवाना भुक्तानका लागि जिल्ला कारागार धुलिखेलमा राखिएको छ । “फरार अपराधी कुनै पनि बहानामा उम्कन नदिने रणनीति बनाएका छौँ” प्रहरी उपरीक्षक खत्रीले भने ।-रासस