काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ५ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहिबार आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सोही विशेष समारोहमा महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका १५ जना अधिकृतहरुलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकार गृहमन्त्रालय गृहमन्त्रिस्तरको बुधबारको निर्णयले ५ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका हुन् भने नेपाल सरकार गृहसचिवस्तरको सोमबारको निर्णयले १६ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका थिए ।
समारोहमा महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै उनिहरुले राज्य र संगठनलाई पुर्याएको योगदानकोसाथै व्यावसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे । उनले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्णव्यावसायिक भई अनुशासित एवं जिम्मेवारी बोधकासाथ कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।
महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गर्दै राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संकारमा रहेर आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै आम नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।