काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।
महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १०० जना स्काउटहरुलाई ट्राफिक स्वयंसेवक बनाई आजदेखि काठमाडौँका विभिन्न १५ स्थानमा परिचालन गरिएको छ ।
काठमाडौँ उपत्यकाको सवारी चाप हुने तथा बढी पैदलयात्रु भीडभाड हुने स्थानमा सहज र सुरक्षित गर्ने लक्ष्य सहित स्काउटका स्वयंसेवक परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । उनले सडक प्रयोगकर्ताहरु एक मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस गर्ने भन्दै स्काउटका स्वयंसेवकले त्यो वातावरण तयार पार्ने विश्वास व्यक्त गरे । जेब्राक्रसिङमा भएको दुर्घटनामा मानिसको ज्यान गएको विगतको घटना स्मरण गर्दै उनले उपत्यकाको चक्रपथ भित्रको बढि भीड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन हुने जानकारी दिए ।
नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले स्वयंसेवकहरुले नागरिकलाई सहि तरिकाले सहि ठाउँबाट बाटो काट्न सिकाउने बताए । सडक दुर्घटना तथा विपतबाट बच्न तथा कुनै पनि संकटबाट बचाउन नागरिकलाई जनचेतना अभिवृद्धि गर्न नेपाल स्काउटले सधैँ सहकार्य गर्ने उनको भनाई छ ।
स्वयंसेवकले जथाभावी बाटो काट्ने, फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै नियम पालना गर्न सन्देश प्रबाह गर्ने छन् । कुनै पनि सवारीले ट्राफिक नियम पालना नगरेमा वा जथाभावी फुटपाथ अतिक्रमण गरेको देखेमा नजिक ट्राफिक प्रहरीलाई जानकारी दिनेछन ।
ट्राफिक स्वयंसेवकको भुमिका निर्वाह गर्दा ट्राफिक प्रहरीको दैनिक अबस्था, सवारी साधन र पैदलयात्रु प्रतिको दृष्टिकोण जानकारीमा आउने हुँदा आम सडक प्रयोगकर्तालाई सचेतना दिलाउन महत्वपुर्ण भुमिका हुने एक स्वयंसेवकले जनाए ।
कार्यक्रममा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले कार्यक्रम माथि प्रकाश पार्नु हुदै स्वयंसेवकहरुले पैदल यात्रु तथा सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउने भएकाले ट्राफिक व्यवस्थापनमा सहजता आउने बताए ।
कार्यक्रममा महशाखाका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा परिचालन बढाउँदै लगिने महाशाखाको योजना रहेको छ ।