पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद शर्मा घिमिरेले अपराधको रोकथाम तथा नियन्त्रण गरि जनताको जनधनको सुरक्षा गर्नु नै नेपाल प्रहरीको पहिलो सर्त भएको बताएका छन् ।
शनिबार नेपाल प्रहरी संगै हाते मालो गर्दै समाजाका विकृती विसंगतिहरुको न्यूनिकरणका लागि स्थापना भएको सामुदायिक सेवा एंव सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीको १६ औं वार्षिक साधरण सभाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले उक्त कुरा बताएका हुन् ।
डीआईजी घिमिरेले समाज र प्रहरी बिचको सुमधुर सम्बन्धको आधार सेतुका रुपमा वर्षौ देखि प्रहरी संग हातेमालो गर्दै उक्त सेवा केन्द्रले अनवरत जनअपेक्षित गतिविधिहरु गर्दै आईरहेको बताए । उक्त सेवा केन्द्रले समाजका विकृती विसंगतिहरुलाई चिर्दै सु-संस्कृत र स्वच्छ समाज निर्माणमा गरेका विविध गतिविधिहरु प्रति सरहाना व्यक्त गर्दै आगामी दिनमा समेत अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी संगको समन्वयता साथै जनचेतनामुलक गतिविधिहरुको निरन्तरताका लागि उनले आग्रह गरे ।
साथै जनता प्रति प्रहरीको व्यवहारको विषयलाई लिएर अपवादको रुपमा कहि कतै दुखद घटनाहरु भए पनि अन्तत्व नेपली जनताको सुखदुखको साथी भएर हातेमालो गर्दै अगाडी बढ्ने समग्र नेपाल प्रहरी संगठनको नीति रहेको समेत स्पष्ट पारेका छन् ।
कार्यक्रमका विशेष अतिथि कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दान बहादुर कार्कीले नेपाल प्रहरी संगठनले अंगिकार गरेको समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्लामा लागूऔषध दुर्व्यशन नियन्त्रणका लागि विद्यालय, अस्पताल, विभिन्न सरकारी कार्यालय नजिकका पसलहरुबाट विक्रि वितरण हुने मादक पदार्थ तथा सुर्तिजन्य पदार्थको निषेध गर्ने कार्यमा सामुदायिक प्रहरी सेवा केन्द्रले अभिभावकत्व लिनुपर्नेमा जोड दिंदै यसमा नेपाल प्रहरी साथसाथमा रहेको बताएका छन् ।
सामुदायिक प्रहरी सेवा केन्द्र बगरका अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सेवा केन्द्रलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई प्रशंसा पत्र वितरण गरिनुका साथै एसईई परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सेवा केन्द्रका पदाधिकारीका सन्ततिलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा जिल्ला स्थित जनप्रतिनिधि, आमा समूह, युवा क्लव, टोल विकास समिति तथा विभिन्न क्षेत्र तथा संस्थालाई प्रतिनिधित्व गर्ने वयक्तिहरुको सहभागिता रहेको थियो ।