बागलुङ । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ ।
तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारी साधनलाई कारवाही गरिने समितिले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ ।
समितिले सडकको अवस्था, यातायात व्यवसायीको लगानी र समस्या, उपभोक्ताको क्रमशक्ति आदिलाई मध्यनजर गरी साविककै भाडादर कायम गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवं यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारिसिङ्ग थापामगरले जानकारी दिए ।
‘सवारीसाधनमा भाडादर टाँस्नुपर्ने नियम पहिल्यै आएको भएपनि कार्यान्वयनमा आउन सकिरहेको थिएन, अब अनुगमन बढाउँछौँ,’ उनले भने, ‘अनुगमनमा कमजोरी भेटिएमा कानूनअनुसार कारवाही हुन्छ ।’
यातायात समिति र व्यवसायीलाई पनि राखेर भाडादरबारे उठेका गुनासा समाधानका लागि पहल र समन्वय गरिने प्रमुख थापामगरले बताए ।
समितिले कोरोना सङ्क्रमणको जाखिमलाई ध्यानमा राखी सवारीसाधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न-गराउनसमेत सरोकार भएका सबै पक्षलाई अनुरोध गरेको छ ।
यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक कार्यालयलगायतका सरोकार भएका निकाय मिलेर स्वास्थ्य मापदण्ड पालना भए-नभएकोबारे अनुगमन गर्ने भएका छन् ।-रासस