काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब हाताभित्र रहेको आधा जमिनलाई प्रहरीले अत्याधुनिक फिटनेश क्लबका रुपमा उपयोग गर्ने भएको छ ।
त्यसका लागि हाल महानगरीय प्रहरी घटना सहायता कार्यदल (नगर प्रहरी) को कार्यालयसहित त्यहाँ अवस्थित फिट्नेश तथा कभर्ड हल, व्यारेक भवन, सफ्ट टेनिस कोर्ट र जलपान हल रहेको स्थान भत्काइँदैछ । तर, व्यवसायिक प्रयोजनका लागि सञ्चालित नेपाल पुलिस क्लब, स्वीमिङ पुल, प्रहरी परिवार महिला संघ र प्रहरी गेष्ट हाउस भने अहिले नभत्काइने भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २६ भदौमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको नयाँ भवन निर्माणका लागि शिलान्यास गर्दा सोही दिन क्लबको पनि शिलान्यास गर्ने तयारी छ ।
३० करोडको लागतमा निर्माण हुने अत्याधुनिक पुलिस क्लब जम्मा दुई तलाको हुने गरी स्टिमेट स्वीकृत भएको छ । शिलान्यासपछि भवन निर्माणका लागि टेण्डर आह्वान हुँदैछ । टेण्डर स्वीकृत भएको भोलिपल्टैदेखि पुलिस क्लबका पुराना संरचना भत्काउन थालिने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
ढिलोमा दुई वर्षभित्र सञ्चालनमा आउने गरी अत्याधुनिक क्लब निर्माण हुने भएको हो । दुई तलामध्ये एउटा तला व्यवसायिक प्रयोजन र अर्को तला प्रहरीको आन्तरिक कामका लागि प्रयोग गरिने भएको छ । दुई तलाको भवन भए पनि चौडाई धेरै भएका कारण सबै कामका लागि ठाउँ पुग्ने स्रोतले जनाएको छ । त्यहाँ अण्डरग्राउण्ड पार्किङस्थल पनि बनाइँदै छ ।
नयाँ भवनका लागि स्वीकृत बजेटमध्ये चालु आर्थिक वर्षमा १२ करोड निकासा भइसकेको छ भने अर्को आर्थिक वर्षमा १८ करोड निकासा हुने भएको छ । नयाँ भवन निर्माणपछि अहिले त्यहाँ रहेको सबै युनिट र संरचना त्यहीँ रहने योजना बनाइएको छ ।
त्यहाँ सञ्चालनमा आउने फिटनेश सेन्टर नेपालमा सञ्चालित कुनै पनि फिटनेश क्लबभन्दा भिन्न, अत्याधुनिक र सुविधासम्पन्न हुने गरी काम थालिएको प्रधान कार्यालयस्रोतले जनाएको छ । शारिरीक सुगठनका लागि आवश्यक पर्ने उपकरणहरु विदेशबाट झिकाइने भएको छ भने झण्डै एक दर्जन दक्ष प्रशिक्षक भर्ना गरिने भएको छ । क्लवमा प्रहरी र गैरप्रहरी दुबैखाले सदस्य हुनसक्ने व्यवस्था गरिने भएको छ । प्रहरी कर्मचारीको हकमा एक किसिमको र गैरप्रहरीका हकमा अर्को किसिमको शुल्कको व्यवस्था हुने भएको छ ।