बिराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित गरिएको कार्यसम्पादन सम्झौता प्रगती समीक्षा कार्यान्वयनको चौमासिक कार्यक्रम १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङगणमा सम्पन्न भएको छ ।
प्रदेश प्रहरी कार्यालय बिराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यमा एक दिने उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।
कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी, सशस्त्र प्रहरी गण मुख्यालय रानी, दंगा नियन्त्रण प्रहरी गण दुहबी, जिल्ला प्रहरी कार्यालय झापा,मोरङ,सुनसरी, ईलाम, धनकुटा र उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षकहरु र प्रदेश प्रहरी तालिम केन्द्र रानीका सह समादेशक प्रहरी नायव उपरीक्षकको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा उपस्थित सबै कार्यालय प्रमुखहरूले चार महिनाको आ-आफ्नो कार्य सम्पादनको प्रगती विवरण सहितको प्रस्तुतीकरण गरेका थिए । साथै सोही अवसरमा डीआईजी कार्कीले कार्य सम्पादनको समीक्षा गर्दै देखिएका कमि कमजोरीलाई औल्याउदै सबैले आफ्नो स्थानबाट आत्म समीक्षा गरी जनमानसमा प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।
निर्देशनकै क्रममा डीआईजी कार्कीले प्रहरी हवल्दार तथा जवान लक्षित उत्प्रेरणा अभिवृद्धि २०७७ लाई अक्षरस पालना गर्न गराउन एवम संगठन प्रमुख प्रहरी महानिरीक्षकले अवलम्बन गरेका कार्ययोजना र कार्यादेशको अक्षरस पालना गर्दै संगठनको व्यवसायिक हितलाई आत्मसाथ गर्दै कार्य सम्पादन गर्नु पर्नेमा जोड दिए ।
प्रगति समिक्षा कार्यक्रममै संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले अपराध तथ्याङ्क विश्लेषण प्रस्तुति तथा अपराध अनुसन्धानमा देखिएका कमि कमजोरी माथी प्रकाश पार्दै वस्तुनिष्ठ र पारदर्शी अपराध अनुसन्धानमा सबै प्रहरी व्यवसायिक रूपले कर्तव्यनिष्ठ भई काम गर्नुपर्ने बताएका थिए ।
साथै बाँकी रहेका जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरु संग निकट भविष्यमै भिडियो कन्फ्रेन्स मार्फत कार्यसम्पादन सम्झौता प्रगती समीक्षा सम्बन्धी छलफल गर्ने कार्यक्रम रहेको छ ।