पोखरा । नेपाल प्रहरीको ६५ औं वार्षिकोत्सवको अवसरमा देश र जनताको सेवामा समर्पित रहि विरताका साथ कर्तव्य पालनको शिलसिलामा प्राण उत्सर्ग गर्ने अमर प्रहरीका गौरवगाथाको उच्च कदर गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा अमर प्रहरी प्रति श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले संयुक्त रुपमा अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरि अमर प्रहरी प्रति श्रद्धा सुमन अर्पण गरेका छन् ।
साथै कार्यक्रमका विशेष अतिथि, अमर प्रहरी परिवार लगायत कार्यक्रममा सहभागी विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुले समेत अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धा सुमन व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले नेपाल प्रहरी विभिन्न भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत पनि देश र जनताको सेवा एवं हितको खातिर अनवरत रुपमा तल्लिन रही व्यवसायीक मर्यादाका साथ कार्यसम्पादन गर्दै आईरहेको प्रति उच्च सम्मान गर्दै आगामी दिनमा समेत कानून बिपरितका कार्यमा कुनै पनि अनुचित दवाब र प्रभावमा नपरी नागरिकलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नु नै अहिलेको आवश्यकता रहेको बताए ।
समय र प्रविधिको विकास संगै अपराध र अपराधिक कार्यविधिमा समेत परिवर्तन भईरहेकाले अपराध रोकथाम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आधुनिक प्रविधिमैत्री क्षमतायुक्त साथै दक्ष जनशक्ति उत्पादन गरी अनुसन्धान मैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने कुरा बताउँदै गण्डकी प्रदेश प्रहरीको समुन्नत विकासका लागि गण्डकी प्रदेश सरकार तत्पर रहेको कुरा बताए ।
उक्त कार्यक्रममा आफ्नो शुभकमाना मन्तव्य राख्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले अमर प्रहरी प्रति श्रद्धा सुमन व्यक्त गर्दै सहिदहरुले देखाएका सपनालाई साकार पार्न र गरेको योगदानलाई स्मरण गरी सजग, सचेत र कर्तव्यनिष्ठ भई राष्ट्रसेवा गर्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले अनेकन आरोह-अवरोहका बीच नेपाल प्रहरीको शीर सदैव उच्च र अटल बनाई राख्न आफ्नो कर्तव्य पथमा सदा कर्मशिल रहि संगठनका खातिर देश र जनताको पक्षमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने अमर तथा शहिद प्रहरीहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गरे ।
साथै प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै उनले नेपाल प्रहरी आम नागरिकको जिउ धन र अधिकारको रक्षा गर्ने आफ्नो मुलभुत दायित्वलाई आत्मसाथ गर्दै राष्ट्र सामु आईपरेका गम्भीर चुनौती एंव संकटको घडीमा समेत कत्ति पनि अविचलित रहि कार्यसम्पादन गर्दै आईरहेको बताउँदै विश्वव्यापी रुपमा रहेको कोरोना सक्रंमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरु समेत प्रभावित भएकाले विशेष सतर्कता अपनाई, उच्च मनोबलका साथ अत्यन्त व्यवसायिक ढँगले प्रस्तुत भई, नागरिकहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखि प्रहरी सेवा प्रवाह गर्न हरप्रहर कटिबद्ध रहेको बताए ।
साथै नेपाल प्रहरीको पूर्वाधार विकास, भौतिक संरचना निर्माण र प्रविधियुक्त अनुसन्धान पद्धतिको विकास अहिलेको अहम आवश्यकता र अपरिहार्यता बनेको बताउँदै नेपाल प्रहरी संगठनमा प्रादेशिक संरचना स्थापित भईसकेको अवस्थाले यस्ता पूर्वाधार विकासमा प्रदेश सरकारको निरन्तर साथ र सहयोग प्राप्त भईरहने विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि एवं विशेष अतिथिले अमर प्रहरीका आश्रीत परिवारलाई कदरपत्र तथा नगद रकम साथै प्रदेश प्रहरीको वार्षिक कार्ययोजना अनुसार त्रैमासिक कार्य सम्पादनको आधारमा उत्कृष्ट जिल्लाको रुपमा छनौट भएको जिल्ला प्रहरी कार्यालय तनहुँ, उत्कृष्ट कार्यालय व्यवस्थापन तर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठ, उत्कृष्ठ ट्राफिक व्यवस्थापन तर्फ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की, उत्कृष्ट प्रहरी कार्य तर्फ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, उत्कृष्ट कार्यालय व्यवस्थापन तर्फ प्रहरी नायव निरीक्षक टिकाराम पनेरु, उत्कृष्ट विपद उद्दार कार्य तर्फ प्रहरी हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट कार्यालय सहयोगी तर्फ प्रहरी कार्यालय सहयोगी बुधराम बिकलाई नगद पुरस्कार एवं सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
सोही अवसरमा ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सन्देश गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले वाचन गरेकि थिइन ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु प्रसाद नेपाल, गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता डा. राजेन्द्र घिमिरे, प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालयका सचिवहरु, प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु, अमर प्रहरी परिवारहरु, पूर्व प्रहरी संगठनका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, पत्रकार लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।