काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई धमाधम कारवाही गर्न थालेको छ । महाशाखाले आजमात्रै ठूलो आवाजले डिष्टर्व गर्ने २० वटा मोटरसाईकलहरु कारवाही गरेको छ ।
महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएकोले कारवाही गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले रोक लगाउन लागिएको जानकारी दिए ।
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।
ठूलो आवाजका कारण ध्वनी प्रदुषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नुपरेकाले ती मोटरसाइकलहरुलाई कडाइ गर्नुपरेको छ । ती मोटरसाइकलहरु तिव्र गतिमा कुदाइने र त्यसमा ठुलो आवाज र ध्वनीका कारण कतिपय अपाङ्ग, असशक्त तथा बिरामीहरु, मुटुका बिरामी तथा कमजोर मुटु भएका मानिसहरु तर्सिने गरेका छन् ।
महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवका अनुसार यस आर्थिक वर्ष ०७७/७८ मात्रै ३४ वटा मोटरसाइकल कारवाही गरिसकेको छ । त्यसरी समातिएका मोटरसाइकलहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना स्वरुप १ हजार देखि १५ हजार रुपैयाँ सम्म जरिवाना गराईएको छ ।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार ठूला आवाज निकाल्ने मोटरसाइकलहरुमा होण्डा डर्ट, हार्डफोर्ड भीआर, डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायतका बाइकहरु पर्दछन् । यस्ता गलत गरी चलाउने मोटरसाईकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ ।
यस्ता किसिमका मोटरसाईकलहरू कतै गुदिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराईदिनुहुन सम्पूर्ण नागरिकहरूमा महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।