काठमाडौं । शहरी क्षेत्रको पुनः निर्माणका सम्बन्धमा प्रस्तुति दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गरेका छन् ।
विश्व पूर्वाधार सहयोग सम्मेलन (ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेशन कन्फरेन्स) मा काठमाडौँ उपत्यकाभित्रका सम्पदा बस्तीको गुरुयोजना,कार्यान्वयन ढाँचा र वित्तीय आवश्यकतामा केन्द्रित भई उनले प्रस्तुति गर्नुहुने प्राधिकरणले जनाएको छ । सम्मेलन भदौ १७ र १८ गते हुनेछ ।
सम्मेलनमा विश्वका विभिन्न मुलुकले शहरी क्षेत्र एवं पूर्वाधार विकासका सम्बन्धमा प्रस्तुतिसहित छलफल गर्नेछन् । सरकारले काठमाडौँ उपत्यकाभित्रका साँखु, बुङमती र खोकनासहितका ६ वटा बस्तीलाई परम्परागत बस्तीका रुपमा घोषणा गरी प्राधिकरणमार्फत बृहत्तर गुरुयोजना तयार पार्दैछ ।
ती बस्तीको ऐतिहासिकता र मौलिकता बचाउन निजी आवास पुनःनिर्माण गर्न प्राधिकरणले प्रति लाभग्राही रु तीन लाखका अतिरिक्त थप रु ५० हजार उपलब्ध गराएको छ । भूकम्प प्रभावित क्षेत्रमा ६० वटा परम्परागत बस्ती पहिचान गरिएको छ ।
शहरी योजनाका विज्ञसमेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्पदा बस्तीसँग जोडिएका क्षेत्रमा हुन लागेको नयाँ शहर विस्तारबारे पनि प्रस्तुति गर्नेछन् । सम्पदा बस्तीको गुरुयोजना तयारी तथा कार्यान्वयनमा आवश्यक पर्ने लगानी जुटाउने सम्बन्धमा समेत छलफल हुने उनले बताए ।
दक्षिण कोरियाको भूमि र विदेश मामिला मन्त्रालयको सहयोगमा इन्टरनेशनल कन्ट्र्याक्टर एसोसिएशन कोरियाले कार्यक्रम आयोजना गरेको हो । ज्ञवालीका साथमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल, विकास सहायता समन्वय शाखाप्रमुख दिव्यराज पोखरेललगायत रहेका छन् । सम्मेलनमा भाग लिई उनी भदौ २० गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।