काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका-२ का ३५ वर्षीय विश्वेश्वर यादवले कोरोना महामारीका कारण रोजगारी गुमाए। रोजगारी गुमाएर घर फर्केका उनी पत्नी र चार सन्तानसँग समय बिताउन नपाउँदा ज्यानै गुमाउन बाध्य भए।
कोरोना कहरले रोजगारी गुमेपछि दिल्लीबाट फर्केका उनी असार १६ गते गाउँ फर्केर क्वारेन्टिनमा बसे। लक्षण नदेखिएपछि उनलाई पिसिआर परीक्षण नगरी साउन १० गते घर जान भनियो। तर समाज, परिवार र सरकारको व्यवहारका अगाडि उनले हार खाए, साउन १६ गते घरनजिकैको रुखमा झुन्डिएर आत्महत्या गरे।
भारतबाट फर्केर गाउँकै पर्शुराम मावि क्वारेन्टिनमा बसेका उनको असार २६ गते पिसिआर परीक्षण गर्न स्वाब झिकिएको थियो। जसको नतिजा साउन १ गते पोजेटिभ आयो। त्यसपछि उनलाई नगराइन नगरपालिकाको गांगुली आइसोलेसनमा सारियो। लक्षण नभएकाले उनलाई पुनः परीक्षण नगरी साउन १० गते घर पठाइएको थियो। पिसिआर परीक्षण नगराई फर्केका उनलाई परिवारले घर नपस्न आग्रह ग-यो। बालबच्चा सानै भएकाले घरपरिवार डराए। कोरोनाको डरले परिवारले उनलाई खाना पनि पातमा दिन्थे। गाउँघरमा मानिसले पनि दुरदुर गर्न थाले। परिवार र गाउँलेको व्यवहारले आजित उनले स्वाब संकलन गरेर जाँच गराइदिन वडाध्यक्षदेखि मेयरसम्म सबैलाई गुहार लगाए तर कसैले सुनेनन्। जनप्रतिनिधि, समाज र परिवारको व्यवहारले उनलाई आत्महत्याको बाटोतर्फ डो-यायो।
०००
लहान नगरपालिका–२४ का रामलाल रामकी कान्छी छोरी अम्बिकाको असार ११ गते डोली उठ्नुपथ्र्यो तर त्यो दिन रामलालको अर्थी उठ्यो। छोरीलाई खुसीखुसी बिदा गर्नुपर्नेमा आत्महत्या गर्न बाध्य भए रामलाल। कारण थियो– समाज र सरकारको व्यवहार। उनले दुलहा पक्षलाई तिर्नुपर्ने दुई लाख ५ हजार दाइजोसमेत बुझाइसकेका थिए। बिहेका लागि चाहिने सबथोक जुटिसकेको थियो।
रामलाल पाँच वर्षदेखि वैदेशिक रोजगारीमा थिए। घरमा आमा, बुबा, पत्नी र दुई छोरीलाई छाडेर साउदी गएका उनी माघ अन्तिम साता घर फर्किएका थिए। उनकी जेठी छोरीको उमेर १९ वर्ष पुगिसकेको थियो। त्यसैले रामलालले छोरीको बिहे गरिदिने सोचे। केटाको खोजी गरे। सप्तरीको सुरुंगा नगरपालिका-४ महुलियाका बन्दी रामका छोरा महेशसँग बिहे पक्का भयो।
असार ११ गते बिहे हुने तय भयो। तर रामलालकी छोरी अर्कै युवकसँग प्रेमसम्बन्धमा थिइन्। बाबुले अर्कै केटासँग बिहे पक्का गरेर दाइजो बुझाएको थाहा पाएपछि उनी प्रेम सम्बन्धमा रहेका युवकसँग असारको पहिलो दिन भागिन्। जब केटा पक्षले केटी भागेको थाहा पाए, गाउँमा जातीय पञ्चायती बसाए। पञ्चायती निरन्तर चार दिनसम्म चल्यो। पञ्चायतीले रामलाललाई निर्णय सुनाए, पाँच लाख ३० हजार नगद र दुई छाक भोज। रामलालकी कान्छी छोरीसँग महेशको विवाह गरिदिए पाँच लाख जरिवाना मिनाहा गरिदिने सर्त पञ्चायतीले सुनायो। पञ्चायतीको निर्णयले रामलाल रातभर छटपटाइरहे।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार आव ०७५/७६ मा ७१७, आव ०७६/७७ मा ८१३ र चालु आव ०७७/७८ को साउन र भदौमा १५१ वटा आत्महत्याका घटना प्रहरीमा दर्ता छन्।
असार ११ गते बिहान पनि रामलालले पञ्चायतीलाई जरिवानाबाट आफूलाई मुक्त गरिदिन बिन्ती गरे। तर पञ्चायतीको अगाडि उनको कुनै जोर चलेन। रामलालकी पत्नी सुनैरदेवीले नागरिकसँग भक्कानिँदै भनिन्, ‘कनिदेरमे आबैछि कैह निकललै फेर कहियो नै आबै जका दुनिया स चैल गेलै (केही बेरमा आउँछु भनेर गए, कहिल्यै फर्केर आएनन्)।’ रामलालका सन्तानको नाममा दुई छोरीमात्रै छन्। घरमा वृद्ध बाबुआमा छन्। कमाएर परिवार पाल्ने जिम्मेवारी रामलालकै काँधमा थियो। पञ्चायतीको गलत निर्णयका कारण रामलाल परिवार शोकसँगै भोकको समस्याबाट गुज्रिरहेको छ।
भदौ ३० गते सप्तरीको डाक्नेश्वरी नगरपालिका-७ ललितपुरकी १७ वर्षीया संगीताकुमारीले घरमै झुन्डिएर आत्महत्या गरिन्। गाउँकै युवाबाट सामूहिक बलात्कारमा परेकी ती किशोरी पञ्चायतीको निर्णय सहन नसकेर आत्महत्या गर्न बाध्य भइन्। पञ्चायतीले छोरीलाई आत्महत्या गर्न बाध्य बनाएको किशोरीकी आमा रधीयादेवीको आरोप छ। बलात्कारी चारजनालाई २५ हजारका दरले जरिवाना गराएर त्यो रकम लिएर पीडित चुप बस्ने निर्णय पञ्चायतले गरेको थियो। गाउँको समस्या गाउँमै मिलाउनुपर्छ भनेर पञ्चायतीले पुलिसमा उजुरी नगर्न फरमान जारी गरेपछि असहमत संगीताकुमारीले घरमै झुन्डिएर आत्महत्या गरिन्। पञ्चायतीले सयौं मानिसको बीचमा बेइज्जत गरेर न्याय पाउने ढोका बन्द गरिदिएपछि बाध्य भएर छोरीले घरको दलानमा पासो लगाएर आत्महत्या गरेको रधीयाले बताइन्।
लहान नगरपालिका-२४ का वडाध्यक्ष कमलदेव यादवका अनुुसार स्वजातीय पञ्चले कानुन मिचेर जरिवाना सुनाउँदा सहन नसकेर रामलाल आत्महत्या गर्न बाध्य भए। रामलालको मृत्युको कारण पञ्चायतले गरेको गैरकानुनी निर्णय भएको अध्यक्ष यादवको भनाइ छ।
समाज, सरकार र परिवारका कारण आत्महत्या गर्न बाध्य सिरहा, सप्तरी र धनुषाका यी उदाहरणमात्र हुन्। प्रदेश २ अर्थात् कोर मधेस समाजमा आत्महत्याको ग्राफ डरलाग्दो छ। आत्महत्या गर्न दुरुत्साहन गरिएका उल्लिखित तीन घटनामध्ये एउटामा मात्र प्रहरीले मुद्दा चलाएको छ। डाक्नेश्वरी नगरपालिकाकी किशोरी आत्महत्या घटनामाा तीनजना पञ्चलाई पनि पक्राउ गरी आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए।
लहानको घटनामा प्रहरीले जाहेरी नलिई पीडितलाई झुलाएर समय बिताइदियो। पीडित सुनैरदेवी भन्छिन्, ‘प्रहरी चौकी पक्की टोलदेखि इलाका प्रहरी कार्यालय लहानसम्म धाउँदा पनि कारबाही भएन। मसँग उति पैसा भए पो वकिलसँग कागज लेखाएर पुलिसलाई बुझाउनु ?’
प्रदेश २ को त्रिवर्षीय तथ्यांकले प्रत्येक वर्ष आत्महत्याका घटना बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष ०७५-७६ मा ७ सय १७, आर्थिक वर्ष ०७६-७७ मा ८ सय १३ र चालु आर्थिक वर्ष ०७७/७८ को साउन र भदौ महिनामा १ सय ५१ वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईंले बताए। जसमध्ये आत्महत्या गर्न दुरुत्साहन गरेको घटना आर्थिक वर्ष ०७५/७६ मा ४, आर्थिक वर्ष ०७६-७७ मा १३ र चालु आर्थिक वर्षको दुई महिनामा ४ वटा दर्ता भएको उनले जानकारी दिए।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रसाईंका अनुसार पछिल्लो समय मधेसी समाजमा आत्महत्या बढ्दै गएको यथार्थ हो। यसका धेरै कारणमध्ये गरिबी, अशिक्षा, सामाजिक हानिकारक परम्परा प्रमुख हुन्। पञ्चायती प्रथाले पनि आत्महत्याका घटनालाई बल पु-याइरहेको उनको विश्लेषण छ। ‘देवानी प्रकृतिका सामान्य घटनामा सामाजिक छलफल गरेर सामाधान गर्नुसम्म क्षम्य नै हुन्छ। तर फौजदारी प्रकृतिका घटना पनि पञ्चायतीबाट मिलापत्र गर्ने क्रम नरोकिँदा आत्महत्याका घटनालाई थप बल पुगिरेहेको छ’, उनले भने। पछिल्लो समय यस्ता घटनालाई रोक्न कानुन नै आइसकेको उनले बताए। उनका अनुुसार आर्थिक वर्ष ०७५-७६ देखि भदौसम्म यस प्रदेशमा आत्महत्या दुरुत्साहन गरेका २१ वटा मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको छ।
मुलुकी अपराध संहिता २०७४ को दफा १८५ (१) मा कसैले कसैलाई पनि आत्महत्या गर्न दुरुत्साहन गर्न वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ। उपदफा २ ले आत्महत्याका लागि दुरुत्साहनको कसुर गर्नेलाई पाँच वर्ष कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। आजको नागरिक दैनिकमा समाचार छ।