काठमाडौं । आजभोली सशस्त्र प्रहरी बलको साक्षरता र त्यसप्रति आम मानिसको आकर्षण देख्दा सनतकुमार बस्नेतलाई सपना जस्तो लाग्छ । कुनै बेला परिवारका सदस्य, साथीभाईलगायतले सेना छाडेर सशस्त्र जानु हुन्न भन्दा उनले आफूलाई ‘कन्भिन्स’ गरे । त्यसपछि जीवन संगिनीलाई । अरुका कुरा माध्यमिक ठाने, आफ्ना निर्णय प्राथमिक बनाएपछि सशस्त्र प्रहरीमा जाने निधो गरे, सैनिक अधिकृतबाट ।
यद्धको बेला थियो । लथालिङ्ग देशमा एउटा भताभुङ्ग संगठनले कसरी गति लिन्छ र ? भन्ने धेरैको विश्लेषण थियो । भन्छन्,‘संगठन नै भत्किएर भविष्य अन्योलतिर पुग्ने हो की भन्ने चिन्ता थियो सबैमा ।’ तर ति सबै पिर चिन्ता एकातिर पन्छाउँदै कर्म गर्दै हिँडेका बस्नेतका लागि त्यसबेलाको रिस्क, पछिका लागि अवसर बनिदियो । उनी, सशस्त्र प्रहरी बलका महानिरिक्षक (आइजी) नै भए । संगठनको नेतृत्वमा कौशलता प्रदान गरेका बस्नेतलाई केही समयपछि अनेक आक्षेपमा अदालतसम्म तानियो । तर, विशेष अदालतबाट उनलाई लागेका अभियोग कुनै प्रमाणित हुन सकेन ।
बस्नेत अहिले पनि सुरक्षा फौज देख्दा छाती चौडा पार्छन् र मुलुकमा आफूले गरेका कामप्रति पनि सन्तोष मानेर बस्छन् । भन्छन्,‘हामी भर्ती हुँदाको बेला, युद्धको समय र अहिलेको अवस्थालाई तुलना गर्दा इतिहास निक्कै रोचक जस्तो, घोचक जस्तो पनि लाग्छ ।’
सुरक्षा फौजको प्रारम्भिक यात्रा
फौजी परिवारमा हुर्किएका कारण ‘फोर्स’को लत त बसिसकेकै थियो । नेपाल प्रहरीमा जाने कि सेनामा जाने भन्ने विषयमाचाहिँ उनी निर्णयार्थ थिएनन् । दाजु प्रहरीमा थिए । उनी प्रहरीमै भर्ती हुने सोचमा काठमाडौं छिरेका थिए । उनी फोर्समा जानका लागि कुमार बस्नेत भन्ने भतिजसँगै काठमाडौं छिरे ।
फोर्समा जागिर खानका लागि प्रहरीमा नै किन ? सेनामा गए पनि हुन्छ नि, भन्ने सुझाव उनका आफन्तले भोजविक्रम थापामार्फत पाएका थिए । ०३८ सालको अन्त्यतिर नेपाल प्रहरीको निरिक्षक पदका लागि विज्ञापन खुलेको थियो तर, तत्कालिन शाही नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट पदमा पनि विज्ञापन उनै थापाले देखाएपछि उनको सोच बदलियो । आखिर फोर्स भनेको फोर्स नै हो भनेपछि सेनामा भर्ती भए ।
सैनिक यात्रा
सेनामा भर्ती हुने क्रममा पनि उनको अचम्मको कथा थियो । सेनामा सेकेन्ड लेफ्टिनेन्टका लागि सेनामा आइए पास गरेको २१ बर्ष मुनि र स्नातक सकेको २४ बर्ष नकटेको हुनुपथ्र्यो । बस्नेत २२ सकेर २३ को उमेरमा हिँडेका थिए । स्नातक सकेका थिए तर प्रमाणपत्र हात लागेको थिएन । तैपनि सेनामा जागिरे हुने उनको चाहनाका लागि सहयोगी बनिदिए त्यसबेला सेनाका डिएमटी (छनौट दल)का क्याप्टेन । भन्छन्,‘शान्तप्रसाद दवाडी क्याप्टेन हुनुहुन्थ्यो, मेरो हातमा रिजल्ट छैन । म स्नातकमा पास हुन्छु भनें । उहाँले निवेदन दिने पास भएको खण्डमा प्रमाणपत्र ल्याउनुपर्छ भन्नुभयो । म पास भएँ । अन्तिम नतिजा भन्दा अगाडि मेरो रिजल्ट पनि आयो । सेनामा लागियो ।’
मेरिट्सका आधारमा बस्नेत र अर्का एक जना साथी हरिबहादुर एक नम्बर र दुई नम्बरमा निस्किए । स्नातक गरेका कारण त्यसरी नाम निस्किएपछि बस्नेतका लागि सेनामा मौकाको ढोका खुल्यो । र, इन्डियन मिलिटरी एकेडेमीमा तालिम लिने अवसर पाए । भन्छन्,‘त्यसले गर्दा नेपालमा तालिम गरिएन । १८ महिना भारतीय सैनिक एकेडेमी देहरादूनमा तालिम गरियो, सैनिक जीवन सुरु भयो ।’ तालिम सकेर आएपछि श्रीनाथ बटालियन छानेर बस्नेतले सैनिक जीवनको व्यावसायीक यात्रालाई अझ प्रभावकारी ढंगले अगाडि बढाए । नेपाली सेनामा सोर्स फोर्स नभई केही हुँदैन भन्ने भनाई थियो त्यसबेला । तर त्यो हाउगुजी नहुँदो रहेछ भन्ने उनलाई लाग्यो ।
जागिरमा लागेपछि एक चरणमा जीवनको फरक बाटोतिर मोडिएका उनका लागि पहिलो पटक बेलायतमा तालिमका लागि जाने अवसर मिल्यो । त्यहाँ जानु अघि ०४१ साल वैशाख ९ गते उनी बैबाहिक जीवनमा बाँधिए । बिहे गरेको चौँथो दिनमा नै उनी बेलायत उडे । सेनामा अब्बल अधिकृतका रुपमा उनको उदय हुनु स्वभाविक बन्दै गयो । जति अब्बल भयो त्यति नै काम देखाउनुपर्ने चुनौति र अवसर नआउने कुरै भएन । सेनामा अब्बलले नै मौका पाउनेमा कुनै दुविधा नै थिएन, छैन । उनी अमेरिकालगायतका देशमा पनि तालिमका लागि स्पर्धामा पहिलो हुँदै मौका नगुमाउनेमा पर्न थाले ।
देश फर्किएपछि भने उनले सेनाको तालिम केन्द्रको प्रशिक्षक भएर खरिपाटीमा तीन बर्ष काम गरे । भन्छन्,‘मैले सकेसम्म काम गरें, भ्याएसम्मको ज्ञान पाएँ । तल्ला तहका कर्मचारीले अहिलेसम्म पनि सम्मान दिन्छन् । हाकिमहरूको पनि प्रशंशा पाएँ ।’ हुनेवाला प्रधान सेनापतिको सचिवालयमा पुग्नका लागि निक्कै अब्बल नै हुनुपथ्र्यो । त्यसबेलाका प्रधान सेनापति प्रभु शमशेर राणा हुनेवाल चिफको सचिवालयमा उनी अनुबन्धित भए । त्यसअघि हालका प्रधान सेनापति पूर्णचन्द्र थापा थिए । थापाको बढुवा भएर विदेश गएपछि सो ठाउँमा क्याप्टेन रहेकाले बस्नेतले आउने मौका पाए ।
‘म उहाँसँग चार बर्ष बसें । राम्रो काम भयो । उहाँ सैनिक प्रमूख बन्नु भयो । मैले मेरो क्षमता र कार्यकौशलता देखाउने मौका पाएँ’, बस्नेत सुनाउँछन्,‘त्यसपछि म काम गर्दै जाँदा श्रीनाथ बटालीयनको कमान्डर हुन पुगें ।’ उनले त्यसअघिको चाखलाग्दो विषय पनि खुलाए । त्यसबेला सेनामा समाचार शिक्षालय व्युरो नै थिएन । युद्ध र अरु बेलामा पनि चाहिने त्यस्तो व्युरो स्थापनाकालमा उनले काम गर्ने मौका पाए । उनी सम्झन्छन्,‘त्यो समाचार शिक्षालय स्थापना गर्ने सदस्य मै हुँ, भारतको पुना, नेपाल र अमेरिकामा काम गरेको अनुभवका आधारमा मैले काम गरें । कार्यपत्र तयार पारें । योजना बनाएर स्थापना गरें ।’
सशस्त्र प्रहरी बलको यात्रा किन ?
सशस्त्र प्रहरी बलमा एक दर्जाको बढुवा हुने भएकाले र उमेरका हिसाबले पनि फाइदा हुने भएकाले बस्नेत त्यतातिर लागे । नेपाली सेनाबाट चार हजार लैजाने तयारी भएको थियो तर १ सय २० जना मात्र सेनाबाट गए । त्यसबेला उनलाई आर्मी नछाड्नका लागि सुझाव पनि दिएका थिए । ‘बँदेलको मासु छाडेर बँगुरको मासु खाने ?’ भनेर कतिपयले भनेका थिए । ‘एउटा करिअरका कारण र अर्कोचाहिँ नयाँ काम गर्ने सोचका कारणले सशस्त्र प्रहरीमा आएको थिएँ ।’
त्यसैले सेनामा लेफ्टिनेन्ट कर्णेल भएका उनी सशस्त्र प्रहरीमा आउँदा प्रहरी वरिष्ठ उपरिक्षकको पदमा आए । आफन्त र परिवारका सदस्यले नजानु भन्नुको कारणचाहिँ युद्धको चपेटामा भर्खरै गठन भएको संगठनमा जानु थियो । त्यसबेला संगठन चल्छ वा चल्दैन भन्ने ग्यारेन्टि पनि थिएन ।
‘सशस्त्र प्रहरीका महानिरिक्षक कृष्णमोहन श्रेष्ठको हत्या भयो, आफैं पनि दुई पटक एम्बुसमा परें । तर, म आफैंले आफूलाई कन्भिन्स गरेको थिएँ । त्यसैले आत्मविश्वास बढेको थियो’, उनी भन्छन्,‘म मानसिक रूपमा तयार भएका कारणले मलाई खासै अप्ठेरोचाहिँ भएन ।’ भालुवाङमा ०५९ साल, पुष १८ गतेको एम्बुसमा परेका बस्नेत अहिले आफू बाँचेर आउँछु भन्ने ठानेका थिएनन् । त्यो एम्बुसबाट फर्किनु भनेको बोनसको जीवन रहेको ठान्छन्, उनी । त्यसैले अहिले पनि उनलाई सशस्त्र प्रहरीको गति देख्दा गर्व महसुश हुन्छ ।