काठमाडौं । शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ । सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड नियन्त्रण, प्राकृतिक विपत्ति तथा दुर्घटनामा ‘रेस्क्यु’का लागि तत्कालै पुग्नुपर्ने प्रहरीमाथि अन्य सुरक्षा संगठनमा भन्दा बढी जोखिम देखिएको छ ।
अझै काठमाडौं उपत्यकामा खटिएका प्रहरीमा अन्यत्रको भन्दा संक्रमणको जोखिम धेरै देखिँदै आएको छ । गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ यात्राको भीड नियन्त्रणका क्रममा खटिएका १८ प्रहरीमा भोलिपल्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन प्रहरीले पुल्चोकबाट पक्राउ गरेका १७ जनामध्ये ६ जनामा सोमबार संक्रमण पुष्टि भएको छ ।
यसैगरी, गोंगबु क्षेत्रमा दुई साताअघि भएको छुरा प्रहारको घटनामा पक्राउ परेका एक व्यक्तिलाई संक्रमण देखिएपछि गरिएको पिसिआर परीक्षणमा ती व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा खटिएका महराजगन्ज प्रहरी वृत्तका ३९ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।
पक्राउ परेका व्यक्तिमा संक्रमण देखिँदा प्रहरीमा पनि धमाधम संक्रमण देखिँदै
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले नेपाल प्रहरीको कर्तव्य नै आफू जोखिममा परेर पनि देश र जनताका पक्षमा सावधानी अपनाएर खटिनुरहेको बताए ।
‘अहिलेको अवस्थामा संक्रमणको जोखिम प्रहरी संगठनमा बढी छ । गाडी, बाटो, भीड, दुर्घटना तथा रेस्क्युमा पहिले प्रहरी नै पुग्नुपर्छ, त्यहाँ संक्रमण कसलाई छ या छैन, हेरिँदैन । पहिले काममा ध्यान दिइन्छ, त्यो कर्तव्य हाम्रो हो,’ प्रहरी प्रवक्ता कडायतले भने । उनले सकेसम्म सुरक्षा सावधानी अपनाएरै प्रहरीलाई भीड नियन्त्रणका लागि परिचालन गर्ने गरिएकोसमेत बताए ।
विभिन्न स्थानमा हुने सभा सम्मेलन, आन्दोलन तथा सुरक्षाका लागि भन्दै प्रहरी पठाउँदा एउटै गाडीमा धेरै संख्यामा प्रहरी कोचेर पठाउँदा समेत प्रहरीमा जोखिम देखिने गरेको छ । यसरी खटिएका प्रहरीले नियन्त्रणका क्रममा पक्राउ परेका व्यक्तिलाई आफू चढेकै गाडीमा ल्याउनुपर्छ ।
यसैगरी, थुनामा रहेका थुनुवा तथा विभिन्न घटनाका आरोपितलाई अदालत तथा अस्पताल लैजाँदासमेत प्रहरीमाथि जोखिम रहने गरेको छ । अदालतमा लैजाँदा भने हाल पीसीआर परीक्षण गराएर मात्रै लगिने गरिएको छ । यसैगरी, थुनामा रहेका थुनुवालाई संक्रमण देखिए अन्य थुनुवाबाट अलग गरेर आइसोलेसनमा छुट्टै राख्ने गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार सोमबारसम्ममा नेपाल प्रहरीका २ हजार ३ सय २० जनामा संक्रमण पुष्टि भइसकेको छ । गत जेठमा सुरुमा एक प्रहरी जवानमा संक्रमण देखिएको थियो ।
तथ्यांकअनुसार कुल संक्रमितमध्ये ९ सय ७४ जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको र १ हजार ३ सय ४६ जना उपचारकै क्रममा रहेको प्रहरी प्रवक्ता कडायतले जानकारी दिए ।
जसअनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सबैभन्दा बढी ६ सय ६४ जना संक्रमित छन् । त्यसमध्ये ५ सय ५८ जना अझै उपचाररत छन् ।
प्रधान कार्यालयमा मात्रै हलसम्म ३ सय ८९ जना संक्रमित देखिएका छन् । त्यसमध्ये ३ सय ८ जना उपचारपछि घर फर्किएका र ८१ जनाको उपचार जारी छ । आजको राजधानी दैनिकमा समाचार छ ।