काठमाडौं । नेपाल प्रहरीका सदाबहार महानिरीक्षक जस्ता देखिन्छन्, संगठनका हरेक गतिविधिलाई नजिकबाट नियालिरहेका हुन्छन्– अच्यूतकृष्ण खरेल ।
नेपाल प्रहरीमा दुई पटक महानिरीक्षक (आइजी) बन्नुपर्ने ‘नियति र अवसर’का जीवित इतिहास हुन् खरेल । त्यसैले त आज पनि उनको अडान एउटै रहन्छ– प्रहरी संगठन आइजीले हाँक्ने हो, कुनै राजनीतिक दलका नेता र मन्त्रीबाट गाइडेड बन्नु हुन्न ।
उनको व्यवहार, अहिलेसम्मको अडान मात्र होइन, साहससँग नामको तालमेल गज्जब छ । ‘अच्यूत’ अर्थात् च्यूत नहुने । त्यसैले जीवनका संघर्षकालमा उनले कुनै पनि चिजमा च्यूत हुन परेन । बस, अवसरहरूका फरक ढोकातिर छिर्न प¥यो । जहाँ–जहाँ हात हाले कप्तानी गर्नुपर्ने अवसर आयो । यो उनको कौशलताको परिणाम थियो ।
खेलकुदमा फूटबल मनपर्छ, खरेललाई । त्यसैले उनी महावीर क्लब हुँदै नेपालको राष्ट्रिय फूटबल टोलीबाट देशविदेशमा खेल्न पुगे । ०२९ सालतिर राष्ट्रिय फूटबल टोलीको कप्तानी गरेर जापानदेखि अनेक ठाउँमा पुगेका थिए । महेन्द्र पुलिस क्लबबाट उनले धेरै खेल खेलेका थिए ।
विज्ञान विषयको उच्च अध्ययनका लागि काठमाडौं छिरेपछि खरेलले खेललाई पहिलो प्राथमिकतामा राखे । त्यसको कारण थियो, गाउँतिर भोगटेका फूटबल खेलेका अनुभव । यसै सन्दर्भमा उनी महावीर क्लबमा कान्छो खेलाडीका रुपमा भित्रिएका थिए ।
खेलको पाटो एकातिर तीव्रताका साथ जाँदै गर्दा २०२७ सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा भर्ती भए । तर, खेललाई छाडेनन् । त्यसैले उनले कैयौं गोल्ड मेडल पनि खेलकै कारण पाए, प्लेयर अफ द म्याच पनि पाएको सम्झनामा छ । ‘दाजु (यादव खरेल)ले खेलमा निकै नाम कमाइस् अब प्रहरीमा काम देखाएर तैंले प्रभाव जमाउनुपर्छ, पुलिसलाई रोल मोडल बनाउने यात्रामा हिँड्नुपर्छ भन्नुभयो,’ उनी सुनाउँछन्, ‘एउटा सफल संगठन कसरी बनाउने भन्नेतिर मेरो ध्यान तानियो । र, मैले जिल्लाको इञ्चार्ज चितवनबाट लिएँ ।’
उनको अनुभवमा चितवन त्यसैबेला ७६ जिल्लाका मानिस बसेको ठाउँ भनिन्थ्यो । राजनीतिक विषय होस् वा जुनसुकै विषय, अलिकता केही भयो कि आगो बल्थ्यो । ‘कतिपयले चितवन किन रोजेको ? त्यो त निकै चुनौतीपूर्ण ठाउँ हो भन्थे,’ उनी भन्छन्, ‘तर जहिले पनि म जोखिमसँग नै लड्न रुचाउने भएकाले त्यहीँको पोस्टिङ लिएँ ।’
त्यसबेला त्यहाँ विद्यमान रहेको चोरीदेखि अनेक समस्यालाई प्रभावका साथ निरुपण गर्न खरेलले काम गरे । उनका उमेरका कोही भेटिए अहिले पनि भन्न सक्छन्, ‘खरेल आएपछि चितवनमा सास फेर्न पाइयो, चोरीबाट मुक्ति पाइयो ।’ चोरीका कतिपय तरीका र शैली कस्ता हुँदा रहेछन् भन्ने गहन अनुसन्धानमा खरेल अब्बल नहुने त कुरै भएन ।
उनले प्रहरीको महानिरीक्षक पदमा रहँदा ९९ प्रतिशत बिना दबाब काम गरेको सुनाए । र, यही विषयमा उनी अहिले पनि दृढ छन् । आफूले काम गर्दा कुनै पनि गृहमन्त्रीले सरुवा बढुवामा दबाब नदिएको सुनाउँदै भन्छन्, ‘म अडान पनि लिएर बस्ने गरेको थिएँ ।’
प्रहरीमा राजनीतिक दबाब हुने गरेको विषय भने उनी नकार्दैनन् । गृह मन्त्रालयले प्रहरीका लागि नीति बनाइदिने र त्यसको नतीजा खोज्नुपर्ने बताएका उनी दोहो¥याएर भन्छन्, ‘प्रहरी त संगठनका प्रमुखले चलाउने हो नि, अरूको सिफारिशका आधारमा सरुवा भएपछि, बढुवा भएपछि संगठन प्रमुखलाई कसरी मान्छ ?’
प्रहरीमा अहिलेको सबैभन्दा ठूलो विकृति राजनीतिक हस्तक्षेप हुनु उनको धारणा छ । राजनीतिज्ञलाई जति दिए पनि नपुग्ने बताएका उनी भन्छन्, ‘जब रत्न शमशेरलाई हटाएर ३० र ३२ वर्षे समयावधिको कुरा ल्याएपछि राजनीति भित्रियो ।’ प्रहरीको सेवाका शर्तहरू ऐनमा उल्लेख गर्नुपर्छ भन्ने विषय अगाडि आएको बताएका उनी भन्छन्, ‘ऐनमा सेवा र शर्त राख्दा प्रहरीले जथाभावी गर्न पाउँदैन ।’
प्रहरी संगठनभित्र राजनीतिक प्रभाव कतिसम्म हुन्छ भन्ने विषय उनले स्पष्टसँग आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । विरोधाभाषका बीचमा हुने कतिपय नियुक्ति प्रहरीमा पनि रहेका कारणले कतिपय विवाद आएको उनी ठान्छन् । फौजी संगठन भनेको सिस्टममा चल्नुपर्छ भन्ने मानक स्थापित गराउनका लागि राजनीतिक हस्तक्षेप र स्वार्थविरुद्ध उभिनै पर्ने बताउँछन्, खरेल ।
प्रहरीलाई समयसापेक्ष हिसाबले सबै कुराको विकास गर्नुपर्ने बताएका उनी भन्छन्, ‘दरबन्दी, साधनस्रोत, अवसरका कुरा हुन्छन् । अर्कोचाहिँ समाजमा जुन प्रकारका थ्रेट देखिएका छन् त्यसको नियन्त्रण गर्नका निम्ति कानून त्यही हिसाबले निर्माण गरी अधिकार बढाउनुपर्छ । दुर्भाग्यवश, प्रहरीलाई यी कुराको पूर्ति गरिएको छैन ।’