गणेश मौनी । डोटीको बडीकेदार गाउँपालिकाले एक साताका लागि गाउँपालिका भित्र आवत-जावतमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ ।
गाउँपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्र भित्र भदौ २० गते राति १२ बजे देखि २६ गते राति १२ बजे सम्मका लागि गाउँपालिका भित्र आवत जावतमा पूर्ण रुपमा रोक लगाउनुका साथै गाउँपालिका संग जोडिएका सम्पूर्ण नाकाहरु बन्द गर्ने निणर्य गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले जनाकारी दिए ।
हालकै दिनहरुमा गाउँपालिका बाहिरबाट गाउँपालिका भित्र आवत जावत गर्ने नागरिकहरुको संख्या बढ्दै गईरहेको र छिमेकी जिल्ला र स्थानिय तहहरुमा सक्रमणको संख्या बढ्दै गईरहेको अवस्थामा संक्रमणको स्थितीलाई मध्यनजर गर्दै थप संक्रमण फैलिन नदिन रोकथाम तथा उपचार सम्बन्धी कार्यलाई ब्यवस्थीत एवं प्रभावकारी बनाई प्रतिकुल प्रभाव पार्न नदिन आवत जावत बन्द गरिएको अध्यक्ष चन्दले जनकारी दिए ।
गाउँपालिकाले जारि गरेको सुचना अनुसार एक टोेलबाट अर्कोटोलमा आवत जावत बन्द गरिएको, गाउँपालिका संग जोडीएका सम्पूर्ण नाकाहरु पूर्ण रुपमा बन्द गरिएको, पशु पौपाया खरिद बिक्री कार्य बन्द गरिएको, आपतकालिन र अत्याबश्यक क्षेत्र खुला रहने गरि अत्यन्त जरुरी काम बाहेक घरबाट बाहिर हिडडुल गर्र्न बन्द गरिएको, एम्बुलेन्स सव बाहन, कुटनीतीक नियोग, खाद्यान्न, तरकारी औषधी, स्वास्थ्य कर्मि, सुरक्षाकर्मि, सञ्चार निकाएले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन पूर्ण रुपमा बन्द गरिएको, सबै प्रकारका भेला, सभा सम्मेलन सेनिनार, गोष्ठी, धार्मिक तथा सांस्कृतिक मेलापर्व लगायतका कार्यक्रम नगर्नुका साथै एकै ठाउँमा जम्मा भएर भिडभाड नर्गन अपील गरेको छ ।
डोटी जिल्लामा हाल सम्म ९ सय ५१ जनामा कोरोना संक्रमीत पुष्ठी भएको छ । जिल्लाको स्थानीय तह अनुसार सबै भन्दा कम संक्रमीतको संख्या बडीकेदार गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
प्रमुख मलासीका अनुसार दिपायल सिलगढी नगरपालिकामा १ सय २७ जना, शिखर नगरपालिकामा २ सय ९५ जना, पुर्विचौकी गाउँपालिकामा १ सय ५७ जना, के आई सिंह गाउँपालिकामा २१ जना, जोरायल गाउँपालिकामा ३० जना, बडीकेदार गाउँपालिकामा १३ जना, आदर्श गाउँपालिकामा १ सय ९६ जना, सायल गाउँपालिकामा ८४ जना, बोगटान फुड्सिल गाउँपालिकामा २८जना रहेका छन् ।
जिल्ला कोरोना संकट ब्यवस्थापन केन्द्रले डोटी जिल्ला भर लागु हुने गरि भाद्र १४ राति १२ बजे देखि २१ गते राति १२ बजे सम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम निशेधाज्ञा जारी गरिसकेको थियो ।