गणेश मौनी । जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले ट्राफिक चेकीङमा कडाई गर्दा सडक दुर्घटनामा न्यूनीकरण आउनुका साथै राजस्व संकलनमा वृद्धि भएको छ ।
ट्राफिक प्रहरीले चेकीङमा कडाई गर्नुका साथै जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दा सडक दुर्घटनामा न्यूनिकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख एवं प्रहरी सहायक निरिक्षक असोक खड्काले बताए । उनले भने ‘नियमीत रुपमा चेकजाँच गर्नु त हाम्रो काम हो त्यसको साथै सडक दृघटनामा न्यूनिकरण होस, ट्राफिक नियमको बारेमा सबैलाई जानकारी होस भन्ने हेतुले विद्यालय स्तरमा, चालक, सहचालकहरुलाई समेत जानकारी गराउदै आएका बताए ।
कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७४/०७५ मा ४ हजार २ सय छतीस जनालाई कारबाही गरि २३ लाख २४ हजार पाचँ सय रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७५/०७६ मा ४ हजार ४ सय ५४ जनालाई कारबाही गरि २४ लाख हजार राजस्व संकलन भएको थियो भने आर्थिक वर्ष ०७६।०७७ मा २ हजार ८ सय २६ जनालाई कारबाही गरि १५ लाख १७ हजार ५ सय राजस्व संकलन भएको प्रमुख खड्काले बताए । अरु वर्षको तुलनामा आर्थिक बर्ष ०७६/०७७ मा कोरोना महामारीका कारण राजस्व संकलनमा कमी आएको समेत प्रमुख खड्काले बताए ।
त्यस्तै सडक दृघटनामा पनि कमी आएको छ । आर्थिक वर्ष ०७४/०७५मा १६ वटा दुर्घटना भई १६ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०७५/०७६ मा १० वटा दृघटना भई १० जनाको र आर्थिक वर्ष २०७६/०७७ मा १० वटा दुर्घटनामा परि १० जनाको मृत्यु भएको हुदा दुर्घटना न्यूनिकरणमा सहयोग पुगेको समेत देखिन्छ ।
ट्राफिक चेकीङमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, साथमा आवश्यक कागजात नभएका, मोटरसाईकलमा ३ जना सवार गर्ने, मदिरा सेवन गरि सवारी साधन चलाउने, सिटबेल्ट नबाध्ने लापरबाही गर्ने, नम्बर प्लेट नभएका जस्तो अवस्थामा रहेकालाई कारबाही गरिएको ट्राफिक कार्यालय दिपायलले जनाएको छ । ट्राफिक प्रहरी जिल्लाको आवश्यकता अनुसार कम भएपनि जिल्लाका मुख्य बजारहरु बुडर, मौवा, बिपीनगर, सानागाँउ, तिनतालि, सिलगढी र दिपायलमा चेकजाचँ हुने गरेको छ ।
सुदूरपश्चिमका केही जिल्लाहरुमा आफ्नो बस्ने भवन र दरबन्दी अनुसारको कर्मचारी नहुदा पनि आफु संग भएको जनशक्ति र स्रोत साधनलाई पूर्ण रुपमा प्रयोग गरि आफ्नो सेवा नियमित रुपमा संचालन गरेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।