काठमाडौँ । ‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ । सङ्क्रमितलाई घृणा र दुर्व्यवहार होइन सक्दो सहयोग गरौँ ।’
काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिले समुदायमा अहिले यस्तै अभियान चलाएका छन् । कोरोना सङ्क्रमित र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमित नभएका व्यक्तिले दुव्र्यवहार गर्न थालेपछि जनप्रतिनिधिकै अगुवाइमा समुदाय स्तरमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो ।
काठमाडौँ उपत्यकामा कुल सङ्क्रमितमध्ये करिब ४५ प्रतिशत व्यक्ति घरमै एकान्तवास र समुदायको निगरानीमा एकान्तवास बसिरहेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका-१ का वडाध्यक्ष मुकुन्द गजुरेलले कोरोना सङ्क्रमितलाई दैनिक तीन पटक फोन गरेर उनिहरूको समस्या बुझ्ने गरेको बताए । उनले वडा भित्रका सबै सङ्क्रमितको आफूले अभिभावकत्व ग्रहण गरी आवश्यक सहयोग गरिरहेको छु, कोरोना लाग्दैमा आत्तिनुपर्दैन, घरमै सुरक्षित भएर बस्दा परिवारलाई कोरोना सर्दैन भने । उनले नागरिक सचेत भए कोरोनालाई जित्न सकिन्छ भन्ने अभियान नै चलाएको बताए ।
काठमाडौँ महानगरपालिका-१४ का वडाध्यक्ष शोभा सापकोटाको भनाइमा कोरोनालाई जित्न समुदाय जागरण अभियान चलाइएको छ । समुदायमा क्रियाशील युवा समूह, नागरिक समाजका अगुवा, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहलाई कोरोना सचेतना अभियानमा टोल-टोलमा परिचालन गरेका छन् ।
सापकोटाले कोरोना भाइरस सङ्क्रमण हुनु कुनै पाप होइन, यो कोरोना धनी वा गरिब जो कोहीलाई पनि लाग्न सक्छ तर सङ्क्रमितलाई दुर्व्यवहार होइन आत्मबल बढाएर सहयोग गरौँ भने । आजको गोरखापत्र दैनिकमा समाचार छ ।