काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बाँके, मकवानपुर र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको हो ।
बाँके, कोहलपुर नगरपालिका-१४ पार्वतीपुरस्थित सडकमा भे ५ प ४५० नम्बरको स्कुटरको ठक्करबाट नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुर बस्ने ४९ वर्षीय राधेश्याम चिडीमारको बुधबार साँझ मृत्यु भएको छ । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ क्याम्पडाँडा नजिक भित्री सडकमा प्रदेश नम्बर २ ०३ ००१ प ९३९० नम्बरको मोटरसाइकको ठक्करबाट साईकलयात्री हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा डेरा गरी बस्ने ४० वर्षीय सोमलाल घलानको बुधबार साँझ मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित सडकमा ना.२ ह १८९० नम्बरको अटोले बुधबार दिसँसो ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय नारायण लम्सालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका-३२ तल्लो गगन गौँडास्थित सडकमा ना.५ ख ५०४६ नम्बरको ट्रक, ग.७ प ७४२८ नम्बरको मोटरसाइकल र ग.११ प २३५८ नम्बरको स्कुटर बुधबार राति एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका स्कुटरमा सवार पोखरा महानगरपलिका-३ नदिपुर बस्ने १८ वर्षीय जुग बिन पुनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल र स्कुटरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।