दार्चुला । व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएपछि आफ्नो भूमि कालापानी हेर्न सशस्त्र प्रहरीको एक टोली त्यहाँ प्रस्थान गर्यो । बिओपीको नेतृत्व सम्हालेका छन्, सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले । बिओपी स्थापना भएको केही समयपछि सोही टोली आफ्नो भूमिको नक्सा र त्यहाँको अवस्था बुझ्न कालापानी हिँड्यो । तर, कालापानीतर्फ गएको सशस्त्र प्रहरीलाई माथिल्लो कौवा क्षेत्रमै अवरोध भयो । त्योभन्दा माथिल्लो क्षेत्र प्रस्थान गर्न खोज्दा उनीहरूलाई रोक लगायो, भारतीय एसएसबीले । सशस्त्र प्रहरी टोलीलाई उनीहरूले भने, ‘योभन्दा अघि जान सक्नुहुन्न । यो माथिकै आदेश हो ।’
गत ३१ वैशाखमा छांगरुमा सशस्त्रको बिओपी स्थापना भएको हो । यसअघि भारतले कृत्रिम रूपमा खडा गरेको कालापानीको मुहान र मन्दिरभन्दा झन्डै एक किलोमिटर तल आएर घेरा पर्खाल लगाएर बसेको छ भारतीय सुरक्षा टोली । सरकारले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्र आफ्नो नक्सामा राखेर संसद्बाट नयाँ नक्सा पारित गराएपछि त्यस क्षेत्रमा तरंग उत्पन्न भएको छ ।
यो क्षेत्रमा सुरक्षाकर्मी मात्र होइन, स्थानीय पनि जान डराउँछन् । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन ।
नेपालले नक्सा जारी गर्नु र भारत तथा चीनबीच भएको पछिल्लो विवादका कारण यो क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लिएको छ । गुन्जी कालापानी क्षेत्रमा अहिले दैनिक दर्जनौं गाडीमा सुरक्षाकर्मी तलमाथि आवतजावत गर्छन् ।
व्यासमा खटिएका सुरक्षाकर्मीका अनुसार कालापानीको मुहान मात्रै हेर्न आग्रह गर्दा पनि उनीहरूले मानेनन् । ‘बरु ढुंगाको पर्खाल लगाएको क्षेत्रमै बसेर फोटो खिचेर फर्किनुपर्यो,’ त्यहाँ पुगेका एक सुरक्षाकर्मीले भने ।
नेपालका सुरक्षाकर्मी कौवा क्षेत्रमा जानेबित्तिकै भारतपट्टिबाट सुरक्षाकर्मीले रेकी गर्छन् । गस्ती गरेकोबारे उनीहरूले माथिल्लो क्षेत्रमा मोटरसाइकलमै गएर खबर पुर्याउँछन् । कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिकै आदेश छ भन्दै एसएसबीले रोक्ने गरेको छ । पहिलो घेरामा एसएसबी तैनाथ छन् । आफ्नै भूमि भएर जान पनि स्थानीयमा त्रास छ । आजको राजधानी दैनिकमा समाचार छ ।