काठमाडौँ । जागिर सुरु गर्दा अहिलेका प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीको पहिलो पोस्टिङ प्रहरी प्रशिक्षण तालिम केन्द्र महाराजगन्जमा भएको थियो । त्यतिबेला उनका पिता शम्भु थापा प्रहरी डिआइजी थिए ।
आमाको चाहना हुन्थ्यो- बाबुछोरा एउटै गाडीमा कार्यालय जाऊन्, फर्किंदा सँगै आऊन् । सायद हर आमाको यस्तै चाहना हुन्छ । आमाकै चाहनामा जसोतसो घर (भक्तपुर)बाट बाबुछोरा एउटै गाडीमा निस्के भने पनि सूर्यविनायक वा ठिमीको पुलनिर आएपछि गाडीबाट शैलेश ओर्लिन्थे । र, सार्वजनिक यातायात चढेर महाराजगन्जतिर लाग्थे ।
उनका पिताले भन्थे, ‘प्रहरीको यो नीलो गाडी मलाई चढ्न दिएको हो, मेरो परिवारका सदस्यलाई होइन । त्यसो गरियो भने दुरुपयोग हुन्छ, सरकारी सम्पत्तिको दोहन गर्नु हुँदैन ।’
बुवालाई प्राप्त सरकारी सेवा–सुविधाको उपयोग शैलेशले बिरलै गरे, त्यो पनि मेसोमेलो मिल्दा । ‘सरकारी सुविधाको दुरुपयोग गर्नु हुँदैन’ भन्ने पिताको आदर्श वाक्यबाट प्रभावित शैलेशले एआइजी हुँदासम्म आफ्नो सवारीसाधनमा कसैलाई चढाएनन् । आफ्ना लागि सुरक्षा गार्ड र सहयोगी समेत राखेनन् ।
आजकाल दुई प्रश्न एकसाथ अघि आउँछन्- मानिस किन इमानदार हुनुपर्छ ? नभए के हुन्छ वा कोही किन बेइमान हुन्छन् ?
खैर, सत्यलाई विश्वास गर्ने केही मात्र इमानदार बन्न सक्छन् भन्ने एक पात्रको रूपमा देखिएका छन्- नेपाल प्रहरीका २८औं आइजिपी शैलेश ।
शैलेशका पिता शम्भु थापा नेपाल प्रहरीकै इमानदार प्रहरी अधिकृतका रूपमा चिनिन्थे । बाबुको सोर्सफोर्स चल्ने समयमै उनी नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भए, २०४९ वैशाख १८ मा ।
शम्भुले छोरालाई प्रहरीमा जागिरे हुन प्रेरणा त दिएका थिए, तर मेरो छोरो भर्ना हुँदै छ भनेर कसैलाई भनेका थिएनन् ।
तालिमका क्रममा शैलेश पहिलो भए । शम्भुले असाध्यै खुसी हुँदै भने, ‘इमानदारपूर्व जिम्मेवारी निर्वाह गर्नू ।’
शैलेशले पिताको इमानदारीका कथा प्रहरी संगठनभित्रबाट पनि थाह पाउन थाले । घरमा मात्र होइन, प्रहरी संगठनमा पनि पिताले देखाएको बाटोबाट उनी विचलित भएनन् । यो क्रम २८ वर्षसम्म कायम रह्यो। यही बाटोले उनलाई कसैसँग नझुकी, कसैको दैलो नढुकी आइजिपीको शिखर चढायो ।
२०२५ मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका- ५ (साविक कटुन्जे गाविस-९) मा जन्मेका शैलेश बुबाकै प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनले भक्तपुरको सरकारी स्कुल शारदा माध्यमिक विद्यालय व्यासीबाट २०४० मा एसएलसी गरे । त्यस्तै, नेपाल कमर्स क्याम्पस मीनभवनबाट स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरे । उनका साथीहरूका अनुसार थापाको स्कुले र क्याम्पस स्तरको पढाइ औसत थियो । तर, जब यिनी नेपाल प्रहरीको सेवामा प्रवेश गरे, उनले आफूलाई अब्बल बनाउँदै लगे । नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) र आर्मी स्टाफ कलेजबाट पनि ग्राजुयसन गरे ।
शैलेश कलेज पढ्दै थिए। कामविशेषले उनी एकपटक बुवालाई भेट्न नेपालगन्ज पुगे, जहाँ उनका पिता क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख थिए । नेपालगन्ज कहिल्यै नगएका शैलेशले पितालाई टेलिफोनमार्फत आफू नेपालगन्ज बसपार्क आइपुगेको जानकारी गराए । उनको मनमा लागेको थियो- बुबाले गाडी पठाउनुहुन्छ, म त्यसैमा चढेर जान्छु ।
तर पिताको जवाफ आयो, ‘रिक्सा चढेर आइज ।’
उनी रिक्सा चढेर क्षेत्रीय प्रहरी कार्यालय पुगे । बुबाले सोधे, ‘कसरी आइस् ?’ शैलेशले ‘क्षेत्रीय प्रहरी कार्यालय कता छ भन्दै सोध्दै आएको’ बताए ।
शम्भुले भने, ‘हो, छोरो भएपछि यसरी नै आउने हो । सबै ठाउँ थाह पाउनुपर्छ । एक्लै हिँड्न जान्नुपर्छ ।’
यसरी शैलेशले पिताबाट हर पाइलामा ज्ञान पाइरहे । बुवाकै आदर्श र ज्ञानलाई पछ्याएरै उनले आफ्नो इमानमा दाग लाग्न दिएनन् । उनलाई चिन्ने-जान्नेहरू भन्छन्- शैलेशको स्वभाव पनि बुबाकै जस्तो छ । धेरै आशावादी छन्- नेपाल प्रहरीको संगठनात्मक छवि थप राम्रो बनाउन शैलेशले भूमिका खेल्ने छन् ।
राजनीतिक शक्ति केन्द्रबाट टाढा
२८ वर्षको अवधिमा शैलेशले खासै आकर्षक पोस्टिङ पाएनन् । उनले जान पनि चाहेनन् । अरुले जस्तो उनले ‘मलाई यो ठाउँमा पोस्टिङ चाहियो’ भनेर कसैलाई भनेनन् । कहिल्यै राजनीतिक शक्तिकेन्द्र धाएनन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख हुँदा गृह मन्त्रालयमा हुने बैठकबाहेक गृहमन्त्रीलाई छुट्टै भेट्न कहिल्यै मन्त्रालय गएनन् । नेपाल प्रहरीभित्र शैलेश राजनीतिक शक्ति केन्द्र र नेताहरूसँग कम सम्बन्ध भएका एक मात्र प्रहरी अधिकारी हुन् भन्दा अतिशयोक्ति नहोला । उनी डिआइजीका रूपमा महानगरीय प्रहरी आयुक्त कार्यालय पुगेपछि दर्जाविनाको यो ‘आयुक्त’ शब्द ठीक भएन भनेर हटाइदिए । उनी जानुभन्दा अगाडि रानीपोखरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थियो । डिआइजीको दरबन्दी कायम भएपछि उनले दर्जाविनाको पद आवश्यक ठानेनन् । लामो समय आइजिपी सचिवालयमा बस्दा राजनीतिक शक्तिकेन्द्रले प्रहरी संगठनलाई कसरी दुरुपयोग गर्छ ? प्रहरी कर्मचारीहरू शक्तिको आडमा आफ्नै संगठनभित्र कसरी प्रयोग हुन्छन् भन्ने राम्रोसँग नियालेका शैलेशले आफूलाई भने निरन्तर टाढा राखे । प्रहरी महानिरीक्षक सिफारिस हुनु अघिसम्म राजनीतिक पहुँचबाट आफू टाढा रहेको सन्देश दिन उनी सफल भए । उनी नियम-कानुनबाहिर जान सकिँदैन भन्ने मान्यता राख्छन् । कसैकसैले उनको यस्तो स्वभावलाई अव्यावहारिक पनि भन्ने गरेका छन् । तर, उनी आफैँ भन्ने गर्छन्, ‘कानुनले दिएको अधिकारबाहेक म अर्को अधिकार प्रयोग गर्न सक्दिनँ, यसबाट साथीहरू रिसाउनु पनि भएको छ । थाह छैन मैले गलत गरेँ कि सही !’
एसएसपी हुँदासम्म टोलमै भेटिन्थे
एसएपी हुँदासम्म उनी हरेक बिहान दुई घन्टा हिँड्थे र टोलकै चिया पसलमा साथीभाइसँग गफिन्थे । आफ्नो टोल छिमेकमा उनले प्रहरीका बारेमा कहिल्यै कुरा गर्दैनथे । छिमेकीले पनि प्रहरीमा केही काम पर्दा शैलेशलाई भनेनन् । उनीहरुलाई थाहा थियो- शैलेशले सोर्सफोर्सको काम गर्दैन ।
टोलमा उनी प्रहरीभन्दा अलग भएर बस्न चाहन्थे। उनी र उनको बाबुको सोर्स लगाएर भक्तपुर र टोल छरछिमेकमा कोही पनि प्रहरी सेवामा प्रवेश गरेको रेकर्ड छैन ।
शैलेश डिआइजी भएपछि भने सातामा एक दिन मात्रै टोलमा देखिन थालेका थिए ।
टोल छरछिमेकीका अनुसार, अहिले पनि शैलेशका बुबाले बिहान आफैँ तरकारी किनेर घर लैजान्छन् । घरमा आमा र पत्नीले पकाएको सादा खाना खाएपछि शैलेसको दैनिकी सुरु हुन्छ । सातामा एक दिन भने उनी मजैले मासुभात खान्छन् ।
आफू जतिकै पढेलेखेकी र क्षमतावान् पत्नीलाई घरबाट बाहिर निकाल्न नसकेकामा बेलाबेला आत्मग्लानि गर्ने शैलेशको बानी छ । घरमा बुबाआमा, छोरीको हेरचाहको जिम्मा उनकी पत्नीले सम्हालेकी छिन् ।
आफ्नो कार्यकक्षमा आउनेलाई पनि उनी खाजा खुवाउन जान्दैनन् वा चाहँदैनन्, कालो चियाले बिदा गर्छन् ।
विनम्र स्वभावका उनी कार्यालयमा खाजा खानुपर्यो भने ब्याचमेटसँगै हुन्छन् । ब्याचमेटसँगको हार्दिकताले पनि कोही कसैलाई चिढ्याइहाल्ने स्वभाव उनको छैन भन्ने प्रस्ट हुन्छ । केटाकेटीहरूसँग खुबै रमाउन चाहन्छन् तर उनीसँग फुर्सद छैन । आलोचक भने उनलाई झन्झटमा नफस्ने र ‘बोल्ड डिसिजन’ गर्न नसक्नेका रूपमा अथ्र्याउँछन् । प्रहरी नेतृत्वसँग नजिक बसेर काम गरेको, अनुभवले खारिएको र इन्स्पेक्टरदेखि डिआइजी हुँदासम्म प्रहरी महानिरीक्षकको सचिवालयमा काम गरेका कारण उनलाई निर्णय गर्न अप्ठेरो छैन भन्नेहरू पनि उत्तिकै छन् ।
संगठन प्रमुख भएपछि उनको आजसम्म निर्माण भएको ‘इमानदार छवि’मा दाग लाग्ला कि भन्ने प्रश्न पनि उठिरहेको छ । राजनीतिक शक्ति र संगठनभित्रको शक्तिलाई ‘मिलाएर’ हिँड्ने बाटो कुनै पनि प्रहरी प्रमुखका लागि चुनौतीपूर्ण छ । यत्तिका वर्ष लगाएका निर्माण गरेको ‘इमानदार छवि’ धमिलिएला कि भन्ने चिन्ता आफन्तजन र शुभचिन्तकमा लाग्नु स्वाभाविकै हो । त्यसैले शैलेशको परीक्षणकाल सुरु भएको छ ।
आइजिपीका चुनौती
लामो समय आइजिपी सचिवालयमा काम गरेका शैलेश त्यो उच्चासनको चुनौतीबारे जानकार छन् । राजनीतिक शक्तिकेन्द्रदेखि व्यापारिक झमेला, ठेक्का–पट्टाका बिचौलियालाई समेत उनले निकटबाट नियालेका छन् । बिचौलियामुक्त प्रहरी संगठन बनाउनु उनको पहिलो दायित्व हुनेछ ।
उनका लागि अर्को चुनौती छ- अघिल्ला दुई आइजिपीले पत्ता लगाउन नसकेका फरार अपराधी पक्रनु । यसमध्ये प्रमुख हो- निर्मला पन्तको हत्या प्रकरण सुल्झाउनु ।
कुमार पौडेलको इन्काउन्टर प्रकरण पनि चुनौतीका रूपमा देखिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन नेतृत्व र इन्काउन्टरमा संलग्न भनिएका प्रहरीलाई कारबाही गर्न निर्देशन दिएको भए पनि अहिलेसम्म कारबाहीको प्रक्रिया अघि बढेको छैन ।
प्रहरीमा राजनीतिक शक्तिको आडमा सरुवा-बढुवा हुने गरेको छ । विशेषगरी राजनीतिक पहुँच भएका प्रहरीहरू अगाडि जाने, राम्रो ठाउँमा सरुवा हुने प्रवृत्ति छ । यसलाई संगठनबाटै टुंगो लगाउने जिम्मेवारी पनि शैलशको काँधमा छ । पहिलो त उनकै ब्याची प्रद्युम्न कार्की र निरजकुमार शाहीलाई एआइजीमा बढुवा गर्नुछ । विगतमा आइजिपी हुनेहरूले प्रतिस्पर्धीलाई साथ लिन नसक्दा विवादित भएका थिए । अहिले शैलेशको नीति देखिन्छ- आफ्ना प्रतिस्पर्धीसँग मिलेर जाने र साथ सहयोग लिने । संगठनमा काम गर्ने प्रहरी अधिकृतलाई व्यक्तिगत रिस र कुण्ठाका आधारमा कारबाही गर्ने परिपाटी देखिन्छ । यसलाई अन्त्य गर्ने दायित्व पनि उनीमाथि छ ।
प्रहरी संगठनमा हुने गरेका भ्रष्टाचारलाई शून्यमा झार्ने, कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका प्रहरीलाई जोखिमबाट मुक्त गर्ने, खरिद प्रक्रियामा देखिएको अनियमितताको जालोलाई तोड्ने लगायत चुनौती उनको अगाडि छ । प्रहरी महानिरीक्षक हुनु भनेको कुशल व्यवस्थापक हुनु पनि हो । करिब ८० हजारको संगठित फौजलाई परिचालन गर्ने जिम्मेवारी एकातिर छ, त्यसमाथि प्रदेश प्रहरी समायोजनको अर्को चुनौती पनि उनको काँधमा आइलागेको छ। त्यस्तै, अघिल्ला आइजिपीले गर्न नसकेका काम पूरा गर्नुछ । योभन्दा धेरै प्रहरीको गिरेको साख जोगाउने कठिन उकालोबाटो हिँड्न तयार हुनुपर्छ । पत्रकार टपेन्द्र कार्कीले लेखेको यो लेख आजको नागरिक दैनिकबाट साभार गरिएको हो ।-सम्पादक