काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले बिहीबार आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् ।
आईजीपी क्षेत्रीले प्रहरी प्रधान कार्यालय प्रवेश गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा.आशा सिंह र हरिबहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गरे ।
उक्त अवसरमा आईजीपी क्षेत्रीले संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सिमाभित्र रहेर नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्ने बताउँदै आईजीपी क्षेत्रीले भने, “प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ, यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ । मेरो सफलता वा असफलता भनेको यिनै कुराहरुको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरोपुरा तागत यसमा लगाउने वाचा गर्दछु ।”
हामी कानुन कार्यान्वयन गर्ने निकाय हौं, कानुन उलंघन गर्ने निकायको रुपमा रुपान्तरण हुन कुनै पनि हालतमा हुँदैन्, कसैले पनि बर्दीमा दाग लगाउने कोशिश गर्छ भने उसमाथि निर्मम रुपमा कारवाही प्रक्रिया अगाडि बढाइने बताउँदै आईजीपी क्षेत्रीले आगामी दिनहरुमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने बताए ।
आईजीपी क्षेत्रीले प्रहरी प्रधानकार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै प्रहरी प्रधानकार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।
विसं २०२५ मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका-५ मा जन्मिएका आईजीपी क्षेत्री २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका थिए ।
आईजीपी क्षेत्री २०५८ फागुन १० गते प्रहरी नायव उपरीक्षक, २०६७ पुस २० गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक, २०७६ चैत ९ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।
राजनीति शास्त्रमा स्नातकोत्तर गरेका आईजीपी क्षेत्रीले कमाण्ड र स्टाफ कोर्ष, लिडरसिप एण्ड म्यानेजमेन्ट ट्रेनिङ प्रोग्राम लगायत विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् ।
आईजीपी क्षेत्री दुर्गम सेवा पदक, दैवीप्रकोप पिडीतोद्वार पदक, गद्दी आरोहण रजत पदक, प्रसिद्ध सेवा पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथोलगायतका विभूषणबाट विभूषित छन् ।
यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा दर्जनौं नगद पुरस्कारप्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्र एवम् कदरपत्रद्वारा सम्मानित भएका छन् ।