काठमाडौं । नेपाल प्रहरीका २८ औं महानिरिक्षक (आईजी) शैलेश थापाले विहीबारदेखि कार्यभार सम्हाल्दैछन् । बुधबार २७ औं आईजी ठाकुरप्रसाद ज्ञवालीको विदाई हुँदैछ ।
शालिनता र सैद्धान्तिक मान्यताका दृष्टिले संगठनमा प्रतीकजस्तै मानिने आईजी शैलेश थापाको नाम र घटनाक्रमले केही अनपेक्षित संयोग देखाउँछ ।
नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थापा २८ बर्षमा संगठनको २८ औं आईजीमा नियुक्त भएका छन् । यस्तै, उनको नामको अर्थ हुन्छ सबैभन्दा उँचो स्थान । संगठनको सवैभन्दा उँचो स्थानमा उनी पुग्नु पनि एउटा अनपेक्षित संयोग हो । तर, बाँकी सबै उनको कार्य क्षमता, दक्षताको परिणामको प्रतिफल भएको संगठनका अनुभवीहरू बताउँछन् ।
बाबु शम्भु थापाको इमान्दारीताको पुतलीका रुपमा आईजी थापा क्षत्री अगाडि बढेका दृष्टान्त पर्याप्त छन् । परिवारका कान्छा छोरा उनी १९ वैशाख २०४९ सालमा नेपाल प्रहरीको निरिक्षक पदमा भर्ती भएका थिए । भक्तपुर कटुन्जेमा उनको २३ मंसिर २०२५ सालमा जन्म भएको थियो ।
‘कतिपयका कर्मले उसको नामसँगै विविधताको संयोग जुराउँछ । प्रहरी अधिकारीका छोरा हुनु नै उनलाई यसै संगठनमा आउने प्रेरणा भयो’, उनलाई राम्रोसँग चिन्नेहरू भन्छन्,‘बाबुको आदर्शको बाटोले छोरालाई पनि सोही शैलीको मानकका रुपमा स्थापित गरेकैले संगठनमा उनको छविमाथि अनेकथरी टिप्पणी हुँदैन ।’
संगठनमा पनि कुशलताका साथ उनले काम गरेका छन् । देश विदेशमा गरेका कामको अनुभव उनीसँग पर्याप्त छ । त्यतिमात्र होइन, आईजी पदलाई कसरी चलाउनुपर्छ भन्ने अनुभव कनिष्ठ अधिकारी हुँदै पनि सँगाल्ने मौका पाएका थिए ।
बोस्नियाँ, डार्फर सुडानमा संयुक्त राष्ट्र संघको मिशनमा सफल काम गरेका उनले राष्ट्रिय प्रहरी शिक्षण प्रतिष्ठान, सिन्धुपाल्चोक जिल्लामा कामको राम्रो अनुभव सँगालेका छन् ।
प्रहरी नायव उपरिक्षक (डिएसपी) हुँदा सल्यान, धादिङमा काम गरेका उनी प्रहरी उपरिक्षक (एसपी), प्रहरी बरिष्ठ उपरिक्षक(एसएसपी) र प्रहरी नायव महानिरिक्षक (डिआईजी) हुँदा प्रहरी महानिरिक्षकको सचिवालयमा बसेर कुशलताका साथ काम गर्ने अधिकारी हुन् । ‘यी अनुभवले उनलाई तिखारेको छ, आईजी पद मात्र होइन यसको गरिमा र कार्य सम्पादनको राम्रो अनुभवले निखारिएका छन्’, एक पूर्व प्रहरी महानिरिक्षक भन्छन्, ‘बनको काँडालाई तिखार्नु पर्दैन भनेजस्तै उनी यस पदका लागि निखारिएका अधिकारी भएरै सरकारले योग्यताको कदर गर्यो ।’
कास्की, झापा, विशेष व्युरोमा उनले एसपी हुँदा कुशल कार्य सम्पादनको अनुभव सँगालेका थिए । यति मात्र होइन, प्रहरी अतिरिक्त महानिरिक्षक रहेका बेला मानव स्रोतको जिम्मेवारी कुशलताका साथ पूरा गरेका छन्, थापा क्षेत्रीले ।
सादा जीवन उच्च विचारको मार्गमा आईजी क्षेत्री मात्र होइन, उनको परिवार नै हिँडेको दृष्टान्त छ । डिआईजी पदमा भएका बाबुले सरकारी सम्पत्तीको दुरुपयोग गर्नु हुँदैन भन्ने शिक्षाकै कारण हुनुपर्छ, आफूले पनि पाएको सुविधाको अतिरिक्त दुरुपयोग गरेनन् । त्यसैले त एक छोरीका बाबु आईजी थापाकी पत्नी सृजना अधिकारीले पनि संगठनात्मक संरचनाका अनेक क्षेत्रमा अनपेक्षित लाभमा लोभ देखाइनन् ।
काठमाडौंको थलीमा विवाह गरेका आईजी थापाले संगठनको चुस्तताका लागि अब अभ्यस्तता गर्दा पत्नी अधिकारीले प्रहरी श्रीमति संघको नेतृत्व स्वतः गर्नेछिन् । ‘यो जोडीले नै आफूले नेतृत्व गरेका संगठन र सामाजिक संस्थालाई थप जिम्मेवार र उत्तरदायी बनाउनेमा कुनै शंका छैन’, जानकारहरू भन्छन् ।