काठमाडौं । सशस्त्र प्रहरी बलको गण तथा गुल्महरुमा प्रमुखको रुपमा सरुवा भएका सशस्त्र प्रहरी उपरीक्षक तथा सशस्त्र प्रहरी नायव उपरीक्षकहरुका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा संचालित दुई दिने अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
उक्त अनुशिक्षण कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च अधिकारी एवं विभिन्न जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी अधिकृतहरुले संगठनका कार्यक्षेत्र भित्रका विविध विषयहरुमा प्रशिक्षण दिएका छन् । गणपति तथा गुल्मपतिको रुपमा खटिएका सशस्त्र प्रहरी अधिकृतहरुका लागि संगठनले अनुशिक्षण कार्यक्रम संचालन गरेको यो पहिलो अवसर हो ।
अनुशिक्षण कार्यक्रममको समापनका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलका विभिन्न कार्यालयहरुमा प्रमुखको रुपमा खटिएका अधिकृतहरुले उच्चस्तरको व्यवसायिकता प्रदर्शन गर्दै नागरिकले महसुस गर्ने ढंगले जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भ्रष्टाचार, लैंगिक हिंसा तथा मानव अधिकार हननको घटनामा संगठनले शून्य सहनशिलताको नीति अवलम्वन गरेको स्पष्ट पार्नुहुँदै संगठनले डण्ड र पुरस्कारको नीतिलाई अवलम्वन गरिरहेको हुँदा पुरस्कृत हुने ढंगले प्रभावकारी कार्य सम्पादन गर्न निर्देशन दिए ।
संगठनले ‘पफर्मेन्स वेस’ सरुवा बढुवा गर्ने स्पष्ट पार्नुहँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले युनिट कमाण्डरको रुपमा खटिएका अधिकृतहरुले आफ्नो कार्ययोजना तयार गरी अगाडी बढ्नुपर्ने र सोही बमोजिम संगठनले मुल्यांकन गर्ने कुरा समेत उल्लेख गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि संगठनले आफ्नो तर्फबाट पूर्ण रुपमा योगदान पुर्याउने चर्चा गर्दैउनले जनताको सरोकारका विषयहरु शान्ति सुरक्षा, अमनचयन, सुशासन तथा नागरिकले निर्धक्क संग बाच्न पाउने वातारवणका लागि संगठनले आफ्नोतर्फबाट योगदान पुर्याउने कुरा समेत उल्लेख गरे ।
कार्यक्षेत्रमा खटिएपछि सशस्त्र प्रहरी कर्मचारीले जनचाहना अनुरुपको कार्यशैली अपनाई दायित्व निर्वाहमा समर्पित रहनुपर्ने बताउदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको जिम्मेवारी र उत्तरदायित्व पुरा गर्नका लागि सधैं दत्तचित्त रहनुपर्ने चर्चा गरे । उनले विगतका कमीकमजोरीबाट पाठ सिकेर आगामी दिनमा रचनात्मक ढंगले कार्य सम्पादन गर्न कृयाशिल रहनुपर्ने कुरा समेत उल्लेख गरे । राष्ट्रको रक्षा तथा सीमानाको सुरक्षा गर्दै नागरिकको सेवा तथा सुरक्षा
एवं सहयोग र आपद विपदमा उद्वार कार्यमा सकृय रहन निर्देशन दिदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई प्राप्त कार्यादेश भित्रका जिम्मेवारी पुरा गर्न सामुहिक भावनाका साथ कृयाशिल रहनुपर्ने तथा नागरिकले महसुस गर्ने ढंगले दायित्व पुरा गर्नुपर्ने बताए । युनिट कमाण्डरको रुपमा संगठनले तपाईहरुलाई अवसर प्रदान गरेको छ, अव तपाईहरुले त्यो अवसरलाई चुनौतीको रुपमा लिएर उत्कृष्ट कार्य गर्नुपर्छ भन्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले यो अवसर भनेको व्यावसायिक करीअरको ढोका समेत भएको बताए ।
उनले राम्रो काम गरेमा भविष्य सुनौलो रहने चर्चा गर्दो संगठनको नीतिलाई मनन् गर्दै उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिए । सशस्त्र प्रहरी महानिरीक्षक खनालले युनिट प्रमुखले गर्ने राम्रा कार्यले मातहतका सशस्त्र प्रहरी कर्मचारी समेत सतकर्ममा अगाडी बढ्ने विश्वास व्यक्त गर्दै संगठन, राष्ट्र र जनताप्रति इमान्दारिताकासाथ कार्यक्षेत्रमा समर्पित रहनुपर्ने तथा यसलाई नै हेरेर संगठनले मुल्यांकन गर्ने तथा वृत्तीविकासमा सघाउ पुग्ने बताउदै व्यावसायिक बनेर कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्नुपर्ने उल्लेख गरे ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो । अनुशिक्षण कार्यक्रममा विभिन्न ऐन नियमहरु लगायत युनिट प्रमुखहरुले निर्वाह गर्नुपर्ने भूमीका एवं विभिन्न विषयवस्तु बारे प्रशिक्षण दिइएको थियो ।