काठमाडौं । प्रहरी महानिरीक्षक (आइजी ) ठाकुर प्रसाद ज्ञवालीले समाजमा शान्ति सुरक्षा कायम राख्न तथा प्रहरीबाट हुने सम्पूर्ण सेवा प्रवाहमा समेत थप सुधार ल्याउन प्रहरी कर्मचारीहरू आफूलाई सुम्पिएको दायित्वप्रति दत्तचित्त भई राष्ट्र र नागरिकको सेवामा सदैव समर्पित हुनुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक परिसरमा नवनिर्मित प्रहरी ब्यारेक भवन तथा भान्साघरको शनिबार सोही कार्यालयमा आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताएका हुन् । भवन उदघाटन पश्चात उनले उक्त नवनिर्मित भवन तथा कार्यालय परिसरको निरीक्षण समेत गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले भवन निर्माणमा सहयोग पुर्याउने महानुभावलाई प्रशंसापत्र बितरण गर्दै नयाँ भवनसँगै प्रहरीबाट प्रवाह हुने सम्पूर्ण सेवामा समेत थप सुधार गरी सेवा प्रवाह गर्न तथा नयाँ भवनको निरन्तर संरक्षणमा जोड दिन उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । गुण्डागर्दी, चोरी निकासी, तस्करी जस्ता अपराधिक क्रियाकलाप नियन्त्रणमा थप सक्रियता देखाउनु पर्नेमा जोड दिँदै आचरण विपरित काम गर्ने प्रहरी कर्मचारीलाई कानूनी दायरामा ल्याई कारवाही समेत गरिने उनले बताए ।
प्रहरी महानिरीक्षक ज्ञवालीले कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको बिषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर विचलित नभई निर्वाह गरेको भूमिकाको चर्चा गर्दै राष्ट्रलाई आइपर्ने जस्तोसुकै बिषम परिस्थितिमा पनि प्रहरी कर्मचारीहरूले अझ उच्च मनोबल तथा सेवाभावकासाथ आफ्नो जिम्मेवारी निर्वाह गर्न कटिवद्ध रहेको बताए । आगामी दिनहरुमा पनि सबै सरोकारवाला निकायहरूसँग काँधमा काँध मिलाएर नेपाल प्रहरी अगाडि बढ्ने उनले उल्लेख गरे ।
प्रदेश प्रहरी कार्यालय वागमतीका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले धन्यवाद ब्यक्त गरेका उक्त कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले शुभकामना मन्तब्य एवम् जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा UNOPS का प्रोजेक्ट मेनेजर कोमल कार्कीले नवनिर्मित ब्यारेक भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै UKaid को सहयोग र UNOPS को सहकार्यमा कुल ५ करोड ६१ लाख ८१ हजार ९ सय ४३ रुपैयाँको लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको जानकारी दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्साल, जिल्लास्थित स्थानीय सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रतिनिधिहरु, स्थानीय संचारकर्मीहरु, समाजसेवी, बुद्धिजिबी, भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो ।
उदघाटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरूलाई समसामयिक बिषयमा आवश्यक निर्देशन समेत दिएका थिए ।