काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । काठमाडौं, नवलपरासी (पश्चिम), रूपन्देही, चितवन, कास्की र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको हो ।
काठमाडौं, काठमाडौं महानगरपालिका-२६ लाजिम्पाटस्थित सडकमा बा.९३ प २०५० नम्बरको स्कुटरलाई हाल नम्बर नखुलेको रातो कारले बिहीबार बिहान ठक्कर दिएर भएको दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार हाल वतन नखुलेका भिम बहादुर गुरुङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सन्तोष घर्तीको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१० नदवास्थित सडकमा यू.पी ५६ एबी ५५३७ नम्बरको मोटरसाइकल र ना.५८ प ८२९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका यू.पी ५६ एबी ५५३७ नम्बरको मोटरसाइकल चालक रुपन्देही रोहिणी गाउँपालिका-४ खुरिया बस्ने २१ वर्षीय राम लखन चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य २ जनालाई पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-८ भैसहियास्थित सडकमा लु.४० प७३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने १९ वर्षीय बसन्त खत्रीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।
चितवन, राप्ती नगरपालिका-६ हर्दिचोकस्थित सडकमा बुधबार बेलुका ना.५ ख ७२९३ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री रौतहट चपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय दु:ख माझीको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही स्थान बस्ने ४५ वर्षीय गोबिन्द माझीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कास्की, पोखरा महानगरपालिका-३० घोतघोतेस्थित सडकमा बुधबार दिउँसो ना.५ ख ८७१४ नम्बरको गुडिरहेको बसबाट खसेर गम्भीर घाइते भएका बसमा सवार रुपाकोट गाउँपालिका-६ बस्ने ६७ वर्षीय बिर्ख बहादुर गुरुङको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, कनकाई नगरपालिका-४ स्थित सडकमा मे.३ प ७६६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहिबार बिहान सडक साईडको डिभाईडरमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक भोजपुर नगरपालिका-२ हेलोङ्छा बस्ने २७ वर्षीय सन्तोष तामाङको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटना भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्धार एवम् दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।