गोरखा । नागरिकले मादक पदार्थ सेवन गरेर अराजक गतिविधि गर्दा नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने र समाजमा अमनचयन कायम गर्नुपर्ने प्रहरीका उच्च अधिकृत कार्यालय समयमा आफैं रक्सीले मात्तिएर बस्छन् ।
अनुशासनमा नबस्नेलाई ठेगान लगाउने जिम्मा लिएका प्रहरी अधिकारी उल्टै आफ्ना हाकिमले बारम्बार फोन गर्दा रिसिभ गर्दैनन् । धेरैपटक फोन आएपछि कल ब्याक गर्छन् र आफूभन्दा दुई तहमाथिका अधिकृतलाई सुन्नै नसक्ने र लेख्नै नमिल्ने शब्द प्रयोग गरेर मुख छाड्छन् भने के होला ? तर, गण्डकी प्रदेशमा भएको छ यस्तै ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी विनोद शर्मा घिमिरेलाई गोरखा प्रहरी प्रमुख एसपी भोला रावलले मदिराले मात्तिएर मोबाइल फोनमा आमाचकारी गाली गरेका हुन् । धेरै दिनदेखी प्रदेश प्रहरी कार्यालयको सम्पर्कमा नरहेका एसपी रावललाई जिल्लाको ट्राफिक व्यवस्थापन गर्न सचेतनामुलक कार्यक्रम आयोजना आदेश दिनका लागि डिआइजी घिमिरेले बुधबार धेरैपटक फोन गरे । तर, रावलको फोन उठेन । प्रदेश प्रमुख र जिल्ला इन्चार्जबीच सिधा सम्पर्क हुनुपर्ने । जिल्ला प्रमुखले हरेक दिनजसो प्रदेश प्रमुखलाई रिपोर्ट गर्नुपर्ने हो । तर, पटकपटक फोन गर्दा पनि उठेन ।
फोन रिरिभ नगरेपछि डिआईजी घिमिरेले प्रदेशको सञ्चारमार्फत एसपी रावललाई आफूलाई फोन गर्न लगाउनू भन्ने आदेश दिए । त्यसपछि रावलले घिमिरेलाई फोन त गरे तर, जयनेपाल समेत नगरी सुरुमै उनले डिआईजीलाई मुख छाडे । कहिले गीत गाउने र कहिले गाली गर्ने गरे रावलले । आमाचकारी गाली केहीबेर सुनेपछि घिमिरेले थप सुन्न सकेनन् र काटिदिए ।
आफ्नो मातहतको जिम्मेवार प्रहरी अधिकृतले फोनमा तथानाम गाली गरेको विषयमा डिआईजी घिमिरेले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई रिपोर्ट गरे । खनालको आदेशमा घिमिरेले प्रदेश प्रहरी कार्यालयका एसएसपी हरिराज वाग्लेलाई गोरखा पठाए । वाग्ले जिल्ला अस्पतालबाट डाक्टर लिएर बुधबार दिउँसो करिब साढे ३ बजे एसपीको निवासमा पुगे । कार्यालय समयमा खुट्टा टेक्न नसक्ने गरि उनी अझै रक्सी पिइरहेका थिए। एसएसपी वाग्ले निवासमा प्रवेश गर्दा रावलले उनलाई समेत चिन्न सकेनन। डाक्टरले मापसे जाँच गरेपछि एसएसपी वाग्ले रिपोर्ट लिएर पोखरा फर्किए । रावललाई अर्धचेत अवस्थामा त्यहीं छाडिदिए।
घटनाबारे के भन्छन् डिआइजी घिमिरे ?
मैले गोरखाका एसपीलाई फोन गरें । धेरैपटक फोन गर्दा उठेन । पछि सञ्चारमार्फत खबर गराएँ । बल्ल उताबाट कल ब्याक आयो । सुरुमै उहाँले मुख छाड्नुभयो । गीत पनि सुनाउनुभयो । जिल्लाको सुरक्षाको कमाण्ड लिएर बसेको प्रहरी अधिकारीले गर्न मिल्ने व्यवहार थिएन त्यो । यो त हदै भयो । केहीबेर सुनेपछि फोन काटिदिएँ । आफूले रिपोर्ट गर्नुपर्ने निकायमा रिपोर्ट गरें । प्रदेश प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेको नेतृत्वमा टिम पठाएर मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गराइयो । माथिबाट कारबाही गर्ने कुरा भएको छ । प्रहरी आचरणमाथि धावा बोल्नेमाथि हदैसम्मको कारबाही हुन्छ।
कारबाहीको तयारी हुँदै
जिल्लाको समग्र शान्ति सुरक्षाको जिम्मेवारी बोकेका एक जिम्मेवार अधिकृत कार्यालय समयमा रक्सीले मातेर मजकुर कार्यालयको प्रमुखलाई गाली गरेपछी गण्डकी प्रदेश प्रहरी कार्यालयले छानबिन शुरु गरेको छ। कारबाहीको प्रक्रिया स्वरुप गोरखाका प्रहरी प्रमुख एसपी रावललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले स्पष्टीकरण सोधिसकेको छ। उनलाई जिम्मेवारीबाट हटाएर त्यहाँ नयाँ एसपी पठाउने बारेमा प्रहरी मुख्यालयमा बिहिवार छलफल भएको स्रोत बताउँछ। तत्कालीन गोरखा प्रहरी प्रमुख एसपी बिमल बस्नेत केन्द्रमा तानिएपछी नेकपा नेताद्वय भिम रावल र नारायणकाजी श्रेष्ठको जोडबलमा भोला रावललाई गोरखाको प्रहरी प्रमुख बनाएर पठाइएको चर्चा थियो। त्यसो त गोरखाका डिएसपी महेन्द्र नेपालको पनि रावलसंग जोडि मिलेको चर्चा छ।
महानगरीय प्रहरी बृत थानकोटको प्रमुख हुँदा अख्तियारको टोलीको स्टिङ अपरेसनबाट जागिर गुमाउने अवस्थामा पुगिसकेका डिएसपी नेपाललाई प्रहरी मुख्यालयले त्यहाँबाट हटाएर गोरखा पठाएको थियो। एसपी रावल र डिएसपी नेपालको उक्त जोडि केहिबर्ष अगाडि जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत थियो। गुल्मीमा रहदा रक्सी देखि चाउचाउ सम्म मागेर डिएसपी नेपालले त्यहाँका व्यापारीलाई हैरान पारेका थिए। उनलाई पनि जिम्मेवारीबाट हटाउने बिषयमा छलफल भईरहेको प्रहरी मुख्यालय स्रोतको दावी छ।