काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । बाँके, पाँचथर, बारा, कपिलवस्तु, रुपन्देही र अछाममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको हो ।
बाँके, कोहलपुर नगरपालिका-११ स्थित सडकमा ना.१ स ७४६५ नम्बरको अटोरिक्साले बा.८५ प ६२५८ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका-९ घर भई प्रहरी चौकी ढकेरी बाँकेमा कार्यरत २४ वर्षीय प्रहरी जवान राम बहादुर चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाँचथर, तुम्वेवा गाउँपालिका-३ मौवाबजारस्थित सडकमा को.१ त ५४६० नम्बरको ट्याक्टरले सोही गाउँपालिका-२ सोभारा घर भई हाल मौवा बजारमा पसल गरी बस्ने रमेश खत्रीको ६ वर्षीय छोरा रिदम खत्रीलाई बुधबार साँझ ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैयास्थित सडकमा ना.५५ प १८३६ नम्बरको मोटरसाइकल बुधबार दिउँसो अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक निजगढ नगरपालिका-७ का ४७ वर्षीय प्रकाश तिमल्सिनाको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१० पचेहरास्थित सडकमा लु.५१ प ११५२ नम्बरको मोटरसाइकल बुधबार राति अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार भारत सिद्धार्थनगर बस्ने १८ वर्षीय शंकर हरिजनको सामुदायिक अस्पताल नम्बर ४ पिपरामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सलिम मुसलमानलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-२ पाखापानीस्थित सडकमा लु.१ च १५८८ नम्बरको कार र लु.३६ प ४३१४ नम्बरको स्कुटर बिहिबार बिहान एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका स्कुटर चालक सैनामैना नगरपालिका-४ शान्तिटोल बस्ने २८ वर्षीय अजिल सलामी थापाको भैरहवा कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अछाम, मेल्लेख गाउँपालिका-१ कोटीस्थित सडकमा सोही स्थान बस्ने रबि धामीको १३ वर्षीय छोरालाई सडक निर्माण गरिरहेको जेसीबीले बुधबार राति ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।