काठमाडौं । नेपाल प्रहरीको आगामी नेतृत्वका विषयमा कुनै प्रश्न छैन, स्पष्ट छ- प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) शैलेश थापा क्षत्री लाइनमा छन् ।
यसको एउटा मात्र कारण हो, प्रहरीमा ज्येष्ठता र कार्यक्षमताको नजरअन्दाज नगरिनु । ५ महिनाका लागि आगामी २४ असारसम्मको कार्यकाल रहनेगरी ज्येष्ठताका आधारमा नै ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरिक्षक (आईजी) मा बढुवा गरिएका थिए ।
हाल रहेका तीन एआईजी मध्ये थापा निर्विकल्प आगामी प्रहरी महानिरीक्षक (२८ औं आईजी) हुनेछन् । हालका आईजी ज्ञवालीका ब्याचमेट तारिणीप्रसाद लम्सालले आईजी ज्ञवालीसँगै आगामी असार २४ मा अवकाश लिनुपर्ने भएपछि प्रहरीको चर्चित ९८औं टोलिबाट पहिलो नम्बरमा एआईजी बढुवा भएका थापालाई सरकारले आईजीमा नियुक्त (बढुवा) गर्नेछ ।
‘कुनै अप्रिय खेल भएन भने प्रहरीको प्रमुखमा अहिले देखिएको बढुवाको नियमले नियती भोग्नुपर्दैन, थापा नै आईजी हुनेछन्’, स्रोतले भन्यो । थापा प्रहरीभित्र पनि प्रचारबाजीलगायत विविध प्रकारका चर्चामा रमाउने अधिकारी होइनन् । एसपीको रुपमा कास्की, झापा लगायतका जिल्लाको कमाण्ड गर्दा होस् वा एक बर्षसम्म महानगरीय प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारीमा रहँदा तथा केन्द्रिय प्रहरी प्रवक्ता हुँदा उनले सिद्धान्त र प्रहरी कर्मभन्दा अन्य चिजमा ध्यान दिएनन् ।
प्रहरीका एक उच्च अधिकारी भन्छन्,‘उहाँ आईजी नियुक्त भएको खण्डमा प्रहरीमा सुधारको मात्र होइन, शालिनताको पनि छायाँ पर्न सक्छ । सिद्धान्त, कर्म र प्रभावकारी कामका विषयमा संगठनात्मक हिसाबले सोच्ने, प्रचारबाजीमा कम रुची राख्ने अधिकृत हो ।’
थापाले प्रहरी कर्मलाई रोजेपछि निरन्तर सक्रियता देखाए पनि विवाद वा उनीमाथिको बहस कुनै विषयमा भएको पाइन्न, प्रायः । ‘कतिपयको बानीचाहिँ यस्तो गरियो र उस्तो गरियो भनेर पत्रकार सम्मेलनसम्म गर्ने छ । तर उहाँले काम गर्ने, त्यसको परिणामको जिम्मा र सतहमा लैजाने काम संगठनलाई छाड्नुभयो’, उनकै सहकर्मी एक उच्च अधिकृतले भने ।
थापा आफ्ना सहकर्मीहरूका लागि पनि अस्वीकार्य वा विवादीत पात्र होइनन् । हाल एआईजी रहेका हरिबहादुर पाल, डीआईजीहरू निरज शाही र प्रद्युम्न कार्की उनका सहकर्मी हुन् । २८ औं आईजी पदकै लागि स्वभाविक स्पर्धामा रहेका भने एआईजी पाल हुन् । प्रहरी मुख्यालयला एक अधिकारी भन्छन्, ‘यो ब्याच नै त्यति विवादीत बनेको छैन । अस्वस्थ प्रतिस्पर्धा पनि थिएन र छैन पनि । त्यसैले एआईजी थापालाई कुनै प्रकारको अवरोध होला भन्ने सोच्न सकिन्न ।’
थापा नेपाल प्रहरीका इमान्दार, अध्ययनशिल, सिद्धान्तपरस्थ र शालिन संगठन बनाउन सक्ने अपेक्षाकृत अधिकृत मानिन्छन् । कतिपय भन्छन्,‘अबको प्रहरी शालिन बन्न सक्ने आधार पनि संगठन प्रमुखको व्यवाहारले नै तय गर्ने भएकाले थापाको कार्यकालमा त्यस्तो परिकल्पना गर्न सकिन्छ ।’