काठमाडौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानुन र कानुन कार्यान्वयनको क्रममा प्रहरी दृष्टिकोणमा सबै नागरिक समान हुने धारणा व्यक्त गरेका छन् ।
समुदाय-प्रहरी साझेदारी, प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित “प्रहरीसँग एक दिन” कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त धारणा व्यक्त गरेका हुन् । कानुनले हेर्ने दृष्टिकोण सबैलाई समान हुने विश्वास दिलाउने प्रयास समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत गरिएको चर्चा गर्दै उनले भने, “ नियम पालना गराउँदा वा प्रतिवन्धित काम गर्न नदिँदा प्रहरीलाई दोष दिने प्रवृत्ति राम्रो होइन ।”
शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, “यही कुरा हरेक स्कुल र समाजमा बुझाउनुपर्छ भन्ने भावना जागेकोले विद्यालय सम्पर्क कार्यक्रम ल्याइएको हो ।” के काम गरे अपराध हुन्छ भन्ने जानकारी नभए पनि अपराधमा फस्ने भएकोले सबैले अनुशासनमा बसेर अगाडि बढेमा समस्या नआउने उनले बताए ।
भूकम्प, प्राकृतिक प्रकोप, सडक सुरक्षा लगायतका सुरक्षामा स्कुलले समेत सामान्य नियम बनाई लागू गर्नुपर्नेतर्फ जोड दिँदै प्रहरी महानिरीक्षक खनालले यस्ता विषयमा समुदाय-प्रहरी साझेदारी कार्यक्रममा विस्तृत व्याख्या गरिएकोले त्यसलाई सबैले मनन् गरी अगाडि बढ्न आग्रह समेत गरे । प्रहरी सेवा र आफ्नो अध्ययनको अनुभव एवं प्रहरीलाई हेर्ने दृष्टिकोणबारे प्रकाश
पार्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी सबै नागरिकको साझा संगठन हो भन्ने भावना जागृत हुनुपर्नेमा जोड दिए । प्रहरी के हो, के काम गर्छ, प्रहरी र समाजप्रति हाम्रो दायित्व के हो भन्ने बुझ्ने वातावरण बनाउन यस भेटघाट कार्यक्रमले सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे । प्रहरी सेवामा देश, नागरिक, युएन मिसन समेत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको सेवा गर्न पाइने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अब म पनि प्रहरी बन्छु भन्ने सोच्न समेत विद्यार्थीहरुलाई आग्रह गरे । सबैले चाहेजस्तो इमानदार, कानून कार्यान्वयन गर्न सक्ने, सेवामा समर्पित कर्मठ प्रहरी बन्दै काम गर्न आफू उद्दत रहेको विचार उनले व्यक्त गरे ।
कार्यक्रममा विभिन्न विद्यार्थीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक खनालले सभ्य समाज निर्माण गर्न सबै जिम्मेवार हुनुपर्ने बताए । गल्ती गर्नेलाई कानुन सम्मत कारबाही गरिएको उल्लेख गर्दै उनले प्रहरीका सकारात्मक पक्षलाई पनि हेरिनुपर्ने बताए । भ्रष्टाचार रोक्ने, राजस्व संकलन गर्ने, सफल अनुसन्धान गर्ने, सूचना प्रविधिको प्रयोग लगायतका काममा नेपाल प्रहरी अब्बल भई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका पुरस्कारबाट पुरस्कृत भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि सूचना दिई प्रहरीलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले कार्यक्रममा सहभागी ८ वटा विद्यालयका प्रतिनिधिहरु र सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्षलाई मायाको चिनो प्रदान गरेका थिए ।