काठमाडौं । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ का ३९ वर्षीय उमेश सहनीलाई अवैध लागूऔषध गाँजा करिव ७० केजी सहित वैशाख १० गते उनकै घरबाट प्रहरीले पक्राउ ग¥यो । काठमाडौं कोटेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका–४ का ३९ वर्षीय देवकुमार घिसिङ र सिन्धुली कमलामाई नगरपालिका–२ का ३० वर्षीय पदमबहादुर श्रेष्ठलाई गाँजा ५० किलो सहित वैशाख ३ गते लाजिम्पाटबाट प्रहरीले पक्राउ ग¥यो ।
सहनी, घिसिङ र श्रेष्ठ जस्तै लागूऔषध दुव्र्यसन र अवैध कारोबारमा संलग्न व्यक्तिहरु पछिल्लो समय ठूलो संख्यामा पक्राउ परेका छन् । अवैध लागूऔषध कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको कारण समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी सक्रियता र नागरिकसँगको सहकार्य नै प्रमुख हो । कार्यक्रम लागू भएपछि लागूऔषध कारोबार नियन्त्रणमा उल्लेख्य सफलता मिलेको छ ।
गत ८ महिनाको अवधिमा लागूऔषध प्रयोगकर्ता, कारोबारी तथा ओसारपसारमा संलग्न ३ हजार ७ सय ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ३ हजार ५ सय ७७ जना पुरुष र १ सय ८७ जना महिला रहेका छन् । कूल पक्राउमध्ये १ सय २९ जना विदेशी नागरिक छन् । सो अवधिमा २ हजार ४ सय ४५ मुद्दा दर्ता भएका छन् ।
सो अवधिमा ४ हजार ६ सय ३७ केजी ६ सय २४ ग्राम गाँजा, २ हजार ६७ केजी चरेश, ८ केजी २२ ग्राम हेरोइन, ५ केजी ७ सय ग्राम अफिम प्रहरीले बरामद गरेको छ । साइकोट्रोपिक्स औषधी लागूऔषध अन्तर्गत १ लाख ८० हजार २ सय १३ ट्याब्लेट, १ लाख ४७ हजार ९ सय ७२ एम्पुल, २ हजार ५ सय ९१ कोरेक्स, १ हजार ४ सय २२ डाईलेक्स, ७ सय ३५ एम्फेटामाईन, २ सय ७८ फेन्सिडेल, ८१ पोल्याण्ड,३१ प्रोजिन, १८ डिआर रेड्डिस, ८५ पिससिरिन्ज, ५ कोडिन, ६ डिकफ, १ सय ४० ऐटेन, २ सय २० ग्राम मेटाफेटामाईन, २ सय ९९ अनरेक्स, ५६ लाब्रोटी, २२ प्रोमिथाईजेन र २ सय १० केजीभाङ समेत प्रहरीले बरामद गरेको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उमेशराज जोशी भन्छन्, ‘लागूऔषध दुव्र्यसन, यसको कारोबार, ओसारपसार, अन्तर्राष्ट्रिय समस्याको रुपमा देखापरेको छ । यसलाई निराकरण गर्न नेपाल प्रहरीले विभिन्न उपाय अपनाउँदै आएको छ । यसक्रममा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा सेवन न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । समुदायसँग निकट भएपछि कारोबारको सूचना आइरहेकोले कारोबारीलाई स्रोतमै समात्न सफल भएका छौं ।’
साथै चुनौती सामना गर्दै लागूऔषध कारोबार नियन्त्रणका लागि नेपाल सरकारले लागूऔषध नियन्त्रण रणनीति २०६६ लागू गरेको छ । गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ अन्तर्गत बुँदा नम्बर ७३ देखि ७६ सम्म लागूऔषध सम्बन्धी नीति तथा योजना समावेश गर्नुको साथै लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियान २०७५ शुरु गरेको छ । विद्यमान कानुनलाई अभियानकै रुपमा लिएर नेपाल प्रहरी लागूऔषध कारोबार, प्रयोग र दुव्र्यसनी नियन्त्रण गर्न सक्रिय भई लागेको छ ।
लागूऔषधको ओसारपसार, खुल्ला सीमाना र लागूऔषधको सहज प्राप्तिको कारण कारोबार बढ्नु प्रमुख कारण हो । लागूऔषध व्यवसाय र प्रयोग हुने ठाउँहरु पहिचान गरी प्रहरीले ती क्षेत्रमा कारवाही तीव्र पारेको छ । गैरकानुनी काम गरेमा कारबाहीको साथै आर्थिक प्रलोभनमा परी वा अन्य जुनसुकै कारणबाट पनि यस्ता काम गर्न नहुने सन्देश दिन प्रहरीले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसबाट लागूऔषध अवैध कारोवार तथा सेवन रोकथाम गर्न थप सफलता मिल्ने अपेक्षा छ ।