काठमाडौं । लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामुलक र्याली तथा सडक नाटक एवं सांस्कृतिक कार्यक्रम काठमाडौंको बसन्तपुर डबलीमा सोमबार सम्पन्न भएको छ ।
लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर, महानगरीय प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र महांकालको संयुक्त आयोजनामा लागूऔषध दुरुपयोग तथा कारोबार विरुद्दको अन्तर्राष्ट्रिय दिवस जुन २६, २०१९ को अवसरमा संचालित सप्ताहव्यापी कार्यक्रम अनुसार उक्त जनचेतनामूलक कार्यक्रम गरिएको हो ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक दिनेश अमात्य र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीले “संगत” नामक पुस्तक संयुक्त रुपमा विमोचन गरे । किशोरकिशोरीहरु लागूपदार्थ दुर्व्यसनीमा पर्ने कारण र सोबाट बच्ने उपाय तथा पुनर्स्र्थापना सम्बन्धमा लामो समयको खोज तथा अनुसन्धान पश्चात देवेन्द्र न्यौपानेद्वारा उक्त पुस्तक तयार गरिएको सो अवसरमा जानकारी गराइयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अमात्यले सडक नाटक प्रस्तुतीमा सहभागी विद्यार्थीहरु लगायत सहयोगीहरुलाई कदरपत्र प्रदान गर्दै जनचेतनामुलक कार्यक्रम सार्थक र सान्दर्भिक रहेको बताए । लागूऔषधको प्रयोगले व्यक्ति तथा समाजमा परेको असर बारेमा विद्यार्थीहरुले प्रस्तुत गरेको सडक नाटकको उनले सराहना गरे ।
सामुदायिक सेवा केन्द्र जनसेवाका उपाध्यक्ष पवित्र बज्राचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी उपरीक्षक कृष्ण प्रसाईले स्वागत मन्तव्य तथा कार्यक्रमबारे जानकारी दिएका थिए । कार्यक्रममा ग्रिनफिल्ड माध्यामिक विद्यालय र युवा सहभागिता माध्यामिक विद्यालयका विद्यार्थीहरुद्वारा लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक नाटक प्रदर्शन तथा नेपाल प्रहरीका कलाकारहरुद्वारा लागूऔषध नियन्त्रण सम्बन्धी नृत्य प्रस्तुत गरिएको थियो ।
“समृद्ध राष्ट्र निर्माणको लागि लागूऔषध रहित स्वास्थ्य जीवन” भन्ने नारा सहित आयोजित कार्यक्रममा समुदाय-प्रहरी वडा समितिका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु, समाजसेवीहरु, विभिन्न विद्यालयका प्रतिनिधिहरु, विद्यार्थीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।