काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको सोंच र राष्ट्रले दिएको जिम्मेवारी पुरा गर्न प्रहरी कर्मचारीहरुले जुनसुकै स्थानमा खटिए पनि भित्रैदेखि काम गर्छु भन्ने भावनाकासाथ व्यवसायिक रुपमा सक्रिय भई काम गर्नुपर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा हालै पदोन्नति भएका प्राविधिकतर्फका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभनपछि उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन । अनुशासित, मर्यादित र इमान्दार भएर प्रहरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘सबैभन्दा ठूलो शक्ति र सत्य आफूले काम गर्ने र आफूमा विश्वास गर्ने हो ।’ व्यक्तिगत आचरण, व्यवहार र हरेकको व्यक्तित्व झल्काउने टर्नआउट दुरुस्त हुनुपर्नेमा उनले जोड दिए । प्रहरी संगठनको गौरवपूर्ण इतिहासलाई बिर्साउने गरी गलत सपना बोकेर संगठनमा प्रहार गर्न सकिन्छ भन्ने सोचाई राखेर रमाउने प्रवृत्ति गलत रहेको उनले चर्चा गरे ।
संगठनको शान, गर्व र गौरव बढाउन आफू लागिपरेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयका लागि जग्गा प्राप्ति, भौतिक संरचना निर्माण, कर्मचारीको वृत्ति विकासमा पहल र निष्ठापूर्वक गर्वकासाथ काम गर्ने वातावरण निर्माण लगायतका उपलब्धी हासिल भएको बताए । यस्तो वातावरण र काम गर्ने अवसरको सदुपयोग गर्न परिस्थिति आफैं बनाउँदै दृढ इच्छाका साथ राम्रो काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘व्यक्तिगत रुपमा आफूले आफैंलाई संयमित राख्नुस् ।’
समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत सबै मिलेर समुदायमा जानुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसबाट साधन स्रोत परिचालन गर्न, हरेक चुनौतिको सामना गर्न सजिलो हुने बताए । यसका लागि सबैले आ-आफ्नो घर, छिमेक, टोल, क्षेत्र, समाजमा सर्वत्र अभियानको रुपमा अगाडि बढ्नुपर्ने उनले बताए । समुदाय राम्रो भएमा अपराध नहुने, असल नागरिक बन्ने र समुदायले प्रहरीलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउने कुराको मनन गरी सक्रिय रुपमा कार्यक्रमलाई योगदान दिनुपर्नेमा जोड दिए ।