काठमाडौं । सोमबार प्रहरी नायव महानिरिक्षक (डिआईजी)को फूली लगाउनासाथ करिअरको एउटा खुड्किलो उक्लिँदै गर्दा जिम्मेवारीको अर्को फेरो समातेको अनुभव गरेका छन्, धिरजप्रताप सिंहले ।
अढाई दशक र केही बर्षको नेपाल प्रहरीको सेवामा पदोन्नती हुनु स्वभाविक प्रक्रियाभित्रको अब्बलता पनि हो । प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीबाट फूली थापेका डिआईजी सिंहका लागि नयाँ जिम्मेवारी प्रदेश २ को प्रहरी प्रमुख पनि थपियो ।
प्रहरीका विभिन्न विशिष्ट पदको जिम्मेवारीमा कुशलता देखाएका सिंहले अब भने एउटा राज्य (प्रदेश)कै प्रहरी कर्मचारीको नेतृत्व गर्नेछन् । ‘उहाँमा नेतृत्व गरी प्रहरी चलायमान बनाउन सक्ने, अपराध अनुसन्धानमा विशिष्टता देखाउन सक्ने खुबी छ’, प्रहरीका उच्च अधिकारी भन्छन्,‘त्यसैले अबको कार्य सम्पादनमा पनि उहाँको अब्बलताले काम गर्नेछ ।’
कहिलेकाहीँ प्रहरीको काम गराईका विषयमा तल्लो तहबाट पनि आलोचना हुने गरेको छ । तर डिआईजी सिंहले आलोचनामुक्त प्रहरी र उसको कर्तव्यलाई केन्द्रविन्दुमा राख्ने अपेक्षा गरिएको छ । त्यसैले त उनको नेतृत्वमा– प्रहरी अव्यवस्था कायम गर्न हैन, अव्यवस्थालाई कानुनी दायरामा ल्याउनका लागि स्थापित संगठन हो भन्ने पर्याप्त उदाहरण व्यवाहारिक हिसाबमा नै पुष्टि भएको थियो ।
व्यवाहारमा सरल मिजास भए पनि अपराधविरुद्ध खरो स्वभाव राख्छन्, सिंह । उनले गरेका अपराध अनुसन्धानका केही प्रमुख घटना यसका प्रतिनिधिमुलक उदाहरण हुन् । महानगरीय अपराध महाशाखाको नेतृत्व गर्दा निशान खड्का अपहरण र हत्याका अभियुक्तको इन्काउन्टरको नेतृत्व होस् वा दाङमा व्यापारी राजकुमार श्रेष्ठको हत्याको योजना अनुसन्धानको सफलता । डिआईजी सिंहले एसएसपी र एसपी हुँदा यी अनुसन्धानमा कुशल भूमिका देखाएर नेपाल प्रहरीमा अब्बल अधिकारी छन् भन्ने परिचय दिए ।
काम गर्ने क्रममा राजनीतिक तथा शक्ति केन्द्रको दबाब कसरी आउँछ र अपराधलाई छुट नदिन कस्तो उपाय गर्नुपर्छ भन्ने अनुभव सिंहसँग छ । यति मात्र होइन, प्रहरीमा रहेका योग्य तल्ला तहका कर्मचारीको मनोबल उठाउँदै कसरी काम गर्न सकिन्छ भन्ने दख्खल पनि छ, डिआईजी सिंहमा
उनले पाएको नयाँ जिम्मेवारीको कार्यकाल अपराध, अपराधीका लागि दुखद र नेपाल प्रहरी, सर्वसाधारणका लागि सुखद हुने विश्लेषण गरिएको छ ।
भारतसँग सीमा जोडिएका र विविध अपराधको इपिसेन्टर नै बनेको दुई नम्बर प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारीलाई डिआईजी सिंहले काम गर्ने अवसरका रुपमा लिएका छन् । अन्यका लागि चुनौति भएको प्रदेशमा प्रमुख भएर जाँदै गर्दा त्यसलाई करिअरकै अवसर बनाउने लयमा सिंहले काम गर्ने विश्वास लिइएको छ । अपराधका हिसाबमा मात्र होइन, अहिले मुलुकले भोगीरहेको कोरोना संक्रमणको जोखिमलाई पनि नजरअन्दाज गर्न नहुने विषयमा सिंह चिन्तित छन् । उनले ठानेका छन्– सीमामा कडाई गरी कोरोनाविरुद्धको सरकारको अभियानलाई सफल बनाउने दृढता निरन्तर रहनेछ ।
राजमार्ग र सीमासँग जोडिएका मुख्य ८ जिल्ला प्रदेश २ मा पर्छन् । जहाँ अपराध, सामाजिक अपराधलगायतका घटनाको ग्राफ अन्यको तुलनामा बढी रहेको देखिन्छ । ‘प्रहरी संगठनले दिएको जिम्मेवारी, नेपाल सरकारको संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी जनताका लागि नै सेवा गर्नु मेरो दायित्व हो, जहाँ जस्तो जिम्मेवारी हुन्छ त्यसलाई आफूले रोजेको पेशाको मर्यादाभित्र रहेर काम गर्ने अठोट राखेको छु’, डिआईजी सिंह भन्छन् ।
काम गर्ने क्रममा राजनीतिक तथा शक्ति केन्द्रको दबाब कसरी आउँछ र अपराधलाई छुट नदिन कस्तो उपाय गर्नुपर्छ भन्ने अनुभव सिंहसँग छ । यति मात्र होइन, प्रहरीमा रहेका योग्य तल्ला तहका कर्मचारीको मनोबल उठाउँदै कसरी काम गर्न सकिन्छ भन्ने दख्खल पनि छ, डिआईजी सिंहमा ।
‘हामी सीमित स्रोत साधनमा पनि कसरी काम गरी परिणाम दिन सक्छौं भन्ने अनुभव लिएको छु । सुविधायुक्त हिसाबले हरेक प्रहरी कर्मचारीले काम गर्न पाउनुपर्छ त्यसो हुन नसके पनि कर्तव्य विमुख भएर प्रहरी बस्नुहुन्न भन्ने मेरो दृढता हो, यसमा सबै प्रहरी कर्मचारी अभ्यस्त छन्’, उनी जोड्छन्,‘यहि मनोवल र दृढता अहिलेसम्म नेपाल प्रहरीका हरेक युनिटमा कार्यरत रहेकाहरूको ताकत र क्षमता पनि हो ।’
उनको नेतृत्वमा काम गरेका प्रहरी अधिकारीदेखि तल्ला तहका कर्मचारी खुशी हुनुको कारण पनि सिंहले दिने आत्मबल, मनोबल रहेको अनुभवीहरू बताउँछन् । त्यसैले त समग्र प्रहरी संगठनमा उनलाई सशक्त आयाम भएका अधिकारीका रुपमा चित्रित गरिन्छ ।