काठमाडौँ । नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहको प्रमुख आतिथ्यमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३६औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
उक्त अवसरमा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले लामो समयावधी अस्पतलामा सेवा गर्ने प्रहरी कर्मचारीहरुलाई कदरपत्र, उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्र र उत्कृष्ट विभागहरुलाई प्रशंसापत्र प्रदान गरिन् । साथै अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर ३६औं वार्षिकोत्सव अवसरमा प्रकाशित ‘अस्पताल दर्पण २०७६’ को उनले लोकार्पण समेत गरिन् ।
कार्यक्रममा पूर्व प्रहरी तथा बहालवाला प्रहरी र परिवारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको थैली प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक टेक बहादुर तामाङले अस्पतालका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहलाई हस्तान्तरण गरे ।
साथै अस्पतालको वार्षिकोत्सवको अवसरमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले पठाउनु भएको शुभकामना सन्देश प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.सिंहले वाचन गरेकि थिइन ।
कार्यक्रममा प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा समेत उच्च जोखिमका बाबजुद प्रहरी अस्पतालका कर्मचारीहरुले सेवा प्रदान गर्दै आएको उल्लेख गरिन । हालको संवेदनशील अवस्थामा उपलब्ध स्रोत साधनको उचित प्रयोग गरी दृढ विश्वास र निस्वार्थ भावना सहित मानवीय सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिइन । विषम परिस्थितिमा सामूहिक भावना, सहकार्य र उच्च संवेदनशीलताका साथ अस्पतालको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन उनले अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिइन ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु एवं प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।