काठमाडौं । सरकारले नेपाल प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी कटौती गर्ने तयारी गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले आवश्यकभन्दा बढी डीआईजी पद कटौती गरिने प्रस्ताव गरेका छन् ।
हाल नेपाल प्रहरीमा प्रशासनतर्फ २६ र प्राविधिकतर्फ ८ गरी ३४ डीआईजीको दरबन्दी रहँदै आएको छ । सरकारले प्रशासनतर्फबाट १३ पद घटाउने गरी तयारी अघि बढाएको हो ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले २६ मध्येबाट १३ मात्रै कायम गर्ने गरी तयारी भएको र त्यसमध्ये पनि हाल चार जना कायमै रहेका कारण नौ जनाको मात्रै डीआईजीमा बढुवा गर्ने तयारी भएको जानकारी दिए ।
‘२६ मध्येबाट १३ मात्रै कायम गर्ने गरी तयारी भएको छ, प्रशासन तर्फका अब १३ वटा दरबन्दी घट्छ, हाल चार जना डीआईजी कायमै रहेका कारण अब ९ जनाको मात्रै बढुवा गर्ने तयारी छ,’ ती मन्त्रीले भने ।
स्रोतका अनुसार सो विषयमा निर्णय नै भएको बुझिएको छ । तर, सार्वजनिक गरिएको छैन । सोअनुसार नै निर्णय बाहिरिए धेरै एसएसपीहरु बढुवाको मुखमा मारमा पर्नेछन् ।
प्राविधिकबाहेकका २६ डीआईजीमध्ये हाल भने २२ जनाको दरबन्दी रिक्त छ । गत २९ माघमा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनका ब्याजी डीआईजीले अवकाश पाएपछि २२ दरबन्दी रिक्त रहँदै आएको हो । प्राविधिकतर्फ भने ८ डीआईजी नै कायम छन् ।
डीआईजीका १३ दरबन्दी कटौती भए बाँकी ९ पदका लगि ३४ जना एसएसपीहरु प्रतिस्पर्धामा रहनेछन् । हाल सूर्य उपाध्याय, निरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल भने डीआईजी छन् । आजको राजधानी दैनिकमा समाचार छ ।