काठमाडौं । सोमबारको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा यसअगाडि कायम रहेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी पचास प्रतिशतले कटौती गरेको छ । प्रहरीमा जनपद समुहतर्फ रहेको २६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दीमा आधा कटौती गर्दै सरकारले १३ मा झारेको उच्च स्रोतको दावी छ ।
नेपाल प्रहरीमा रहेको अनावश्यक दरबन्दी कटौतीको प्रस्ताव ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले यसअगाडि नै निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनबमोजिम गृहमन्त्रालयले सोमबारको मन्त्रीपरिषद बैठकमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी कटौतीको प्रस्ताव पेश गरेको थियो । गृहमन्त्रालयले जनपद समुहतर्फ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी १९ राख्नुपर्ने प्रस्ताव गरेको भएतापनि प्रधानमन्त्री ओलीले अडानमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी १३ कायम भएको उच्च स्रोतले जानकारी दियो ।
सोमबारको निर्णय अनुसार अब सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (CIB), विशेष ब्यूरो नक्साल, लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, प्रहरी महानिरीक्षकको सचिवालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक/एक गरि जम्मा १३ प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्यरत रहनेछन् ।
नौ डीआईजीको लागि ३४ एसएसपी प्रतिस्पर्धामा
नेपाल प्रहरीमा दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर बाहेकका सबै प्रदेश प्रहरी कार्यालय नेतृत्वबिहिन छन् । हाल प्रहरीमा कार्यरत चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) मध्ये निरजबहादुर शाही केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी), प्रध्युम्नकुमार कार्की दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, सुर्यप्रसाद उपाध्याय प्रहरी प्रधान कार्यालय नक्साल र बिश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
दरबन्दी कटौती गर्ने सरकारको यो निर्णयसंगै नेपाल प्रहरीमा कायम भएको १४ प्रहरी नायब महानिरीक्षक (डीआईजी) मध्ये रिक्त हुने ९ दरबन्दीमा पदपूर्तिको तयारी थालिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बस्ने बढुवा समितिले यसैसाता प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको टुंगो लगाउने गृहमन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ ।
गृहले बढुवाको प्रक्रिया अगाडि बढाउने संकेत पाएपछि बढुवाका आकांक्षी केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु शक्तिकेन्द्र धाउन थालेका छन् । रिक्त रहेको ९ डीआईजीको लागि ९८ टोलिका बैकल्पिक समेतगरि ३४ एसएसपीहरु बिच प्रतिस्पर्धा हुने भएको छ ।
दरबन्दी कटौतीले रिक्त पद कम भएपछि बढुवामा समेत सकस हुने देखिएको उच्च स्रोतको भनाइ छ । बरियता अनुसार ९८ टोलिका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण र देवबहादुर बोहरा डीआईजी बढुवाको लाइनमा छन् ।
त्यस्तै ९८ टोलिको बैकल्पिक सुचीका धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र बहादुर धानुक, सहकुल बहादुर थापा र अरुणकुमार बिसि समेत डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । उक्त बैकल्पिक टोलिका बिश्वराज पोखरेल सबैलाई उछिनेर यसअगाडी नै डीआईजी भइसकेका छन् भने एसएसपी लोहनीविरुद्ध मोरङ जिल्ला अदालतमा ३३ किलो सुनतस्करी र सनम शाक्य हत्याकाण्ड सम्बन्धि मुद्दा बिचाराधिन रहेकोले उनको बढुवा हुने सम्भावना नरहेको गृहमन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
बढुवाको प्रतिस्पर्धामा रहेका एसएसपी सौरभ राणा एक महिलालाई यौन शोषण गरेको आरोपमा निलम्बित छन् । गृहमन्त्रालयले समेत छानबिन गरिरहेकोले उनको पनि बढुवा हुने सम्भावना छैन । ९८ टोलिका रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदिपकुमार श्रेष्ठ र बैकल्पिक टोलिका सुशिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पुजा सिंह, बिक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र नरबहादुर खत्री समेत डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
२०४९ बैशाख १९ र चैत ११ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ९८ टोलिबाट प्रतिस्पर्धामा रहेका उनिहरु २०७४ साउन ३२ र २०७५ जेठ २ मा एसएसपीमा बढुवा भएका थिए ।