महोत्तरी । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाका भारतीय सीमा नाका बन्द गरिएका छन् ।
जिल्लाको भिठ्ठामोरबाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न ११ मुख्य र अरु बस्ती-बस्तीसँग जोडिएका नाका आजदेखि बन्द गर्ने निर्णय गरेको थियो ।
करिब ३८ किलोमिटर भारतसँग सीमा जोडिएको जिल्लामा बाक्लो ओहोरदोहोर हुँदै आएका खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, इँटहर्वाकट्टी, कटैया, बथनाहा, मधवा, नैन्ही, पर्सापतैली र मटिहानीसहितका नाकाबाट आवतजावत पूर्ण बन्द गरिएको छ । यसैगरी रघुनाथपुर, सग्रामपुर, कट्टी, शिशवाकटैया, मुसरपट्टी, मलिवारा र सकरीलगायतका सीमाबाट हुने आवतजावत पनि पूर्णरूपले बन्द गरिएका छन् ।
बन्द गरिएका नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगमन गस्ती शुरु गरेका जनाइएको छ । सीमाक्षेत्रका सबै स्थानीय तहसँग समन्वय गरेर सीमा वारपार नगर्न लगातार सन्देश प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कोरोना भाइरसको जोखिम विरुद्ध सामूहिक काम गर्न आवश्यक रहेको बताए ।
जिल्लामा भारतसँग सीमा जोडिएका मटिहानी, जलेश्वर, मनराशिशवासहित तीन नगरपालिका एवं एकडारा र सम्सीसहित दुई गाउँपालिकासमेत पाँच स्थानीय तह पर्दछन् ।
जिल्लाका भिठ्ठामोर र मटिहानीमा उपकरणसहितको स्वास्थ टोली यसअघि नै सञ्चालनमा आइसकेका छन् । रासस