काठमाडौं । सार्वजनिक यातायातको टिकटमा ठगी गर्ने २८ जना पक्राउ परेका छन्। टिकट काउन्टरका कर्मचारीले सवारीसाधन अभाव देखाएर यात्रुसँग तेब्बरसम्म भाडा असुलेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डीएसपी हविन्द्र बोगटीले बताए।
पक्राउ परेकालाई आइतबार अदालतमा उपस्थित गराइनेछ। उनले भने, ‘टिकट काउन्टर र बसपार्कमा यात्रुको चाप बढेसँगै गाडी ग्यारेजमा राखेर यात्रुसँग बार्गेनिङ गर्ने, बढी भाडा असल्ने गरेको पाएका छौं।’
सरकारले शिक्षण संस्थामा पठनपाठन बन्द गरेपछि काठमाडौंबाट अधिकांश विद्यार्थी र अभिभावक बाहिरिने क्रम बढेको छ। रौतहतको गडुरा जान लागेका विलास ठाकुरले टिकटको दोब्बर मूल्य तिर्नुपरेको गुनासो गरे। ‘टाटा सुमोबाट घर जान लागेको। काउन्टरका मान्छेलाई सोध्यो गाडी छैन भन्छन्’, बल्खुमा भेटिएका ठाकुरले भने, ‘डबल भाडा तिर्ने हो भने गाडी मगाउने बताउँछन्। घार जानु छ।’
वीरगन्जका राजेश महतो अन्य समयमा गाडीबाट झर्नेबित्तिकै झोला समात्न आउने काउन्टरका मान्छेले असहज स्थितिमा यात्रुलाई ठग्ने गरेको बताउँछन्। अहिले टिकट काट्ने व्यक्तिलाई यात्रुसँग बोल्ने फुर्सदै छ।
गौशाला, सुन्धारा, पुरानो बसपार्क, चाबहिल, बालाजु, कोटेश्वर, कलंकीलगायतका क्षेत्रमा पनि यात्रुसँग बढी भाडा लिने गरिएको सार्वजनिक यातायातका अधिकारकर्मी प्रेमबहादुर थापा बताउँछन्। ‘यात्रुको बाध्यतालाई यातायात व्यवसायीले कमाई खाने भाँडो बनाएका छन्। कोरोनाका कारण विश्व त्रसित छ’, थापाले भने, ‘तर यहाँ कसरी ठग्ने भन्ने होडबाजी छ।’
यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको उदासीनताले संकटको समयमा यात्रु ठगिनु दुर्भाग्यपूर्ण भएको थापा बताउँछन्। आजको अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।