काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनामा सडक प्रयोगकर्ता, पैदल यात्रु, चालक, सहचालक तथा विद्यार्थी गरी एक लाख २९ हजारलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिइएको छ । ट्राफिक नियम पालना गराई सडक अनुशासन रसचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत पुसदेखि शुरु गरेको तीनमहिने ‘विशेष ट्राफिक उज्यालो अभियान’मार्फत उनीहरुलाई प्रशिक्षित गराइएको हो ।
अभियानका क्रममा १९ हजार ५६९ सार्वजनिक सवारीका चालक तथा सहचालक, २७ हजार मोटरसाइकल चालक र ६१२ सरकारी गाडीका चालकलाई प्रशिक्षण दिइएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । उक्त अभियानका क्रममा झण्डै ६३ हजार पैदलयात्री र सर्वसाधारणलाई ट्राफिक नियम र सडक अनुशासनका विषयमा जानकारी गराइएको उनले बताए ।
महाशाखाले दैनिक ४० एकाइबाट ट्राफिक नियमसम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना कक्षा चलाएको थियो । सो कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे जानकारी दिइएको र घरघरमा सचेतनाका लागि पर्चा –पम्पलेट वितरण गरिएको महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए । ‘सडक प्रयोगकर्तालाई ‘कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरिएको छ जसका कारण सचेतना कक्षाबाट धेरै लाभान्वित भएका छन्’, प्रवक्ता श्रेष्ठले भने ।
२० हजारलाई सचेतना कक्षा
अभियानका क्रममा जथाभावी बाटो काट्ने १९ हजार ९९८ बटुवालाई सोही ठाउँमा राखेर २० मिनेटको सचेतना कक्षा प्रदान गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पैदलयात्रीलाई आकाशे पुल र जेब्राक्रसिङको प्रयोग गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा नियमितरूपमा घोडा परिचालन गरिएको महाशाखा प्रमुख ढकालले जानकारी दिए । ट्राफिक उज्यालो अभियानअन्तर्गत रहेर गीतसङ्गीतका माध्यमबाट जेब्राक्रसिङ र आकाशे पुलको प्रयोग, सडक सङ्केतको पालना तथा तीव्र गति र मापसे गरेर गाडी नचलाउन अनुरोध गरिएको उनले बताए ।
उपत्यकाका व्यस्त ४७ चोकमा चालक तथा जेब्राक्रसिङका बटुवालाई लक्ष्य गरी प्रहरीबाटै ट्राफिक नियम लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । मापसे गरी सवारी चलाउने नौ हजार ५६९, लेन अनुशासन पालना नगर्ने आठ हजार २६९, सवारी दुर्घटना गर्ने १०० सहित १७ हजार ९३८ लाई दैनिक कारवाही गरिएको जनाइएको छ । गत पुस १ गतेदेखि शुरु भएको उक्त अभियानलाई चैत १ गतेदेखि भने थप परिमार्जन गरी सञ्चालन गरिएको महाशाखाले जनाएको छ । रासस