काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । सर्लाही, नुवाकोट, मकवानपुर र सिन्धुलीमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको छ ।
सर्लाही, हरिपुर नगरपालिका-७ स्थित सडकमा ना.२५ प ६९२२ र ज.५ प ७८८६ नम्बरका मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा गम्भीर घाइते भएका दुबै मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-१५ का ३० वर्षीय अनिल चौधरी र सोही नगरपालिका-१४ का ३५ वर्षीय अशोक चौधरीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य ४ जनामध्ये २ जनालाई थप उपचारको लागि वीरगंज पठाइएको छ भने २ जना उपचारपछि डिस्चार्ज भएका छन् । दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैगरी सर्लाही, मलंगवा नगरपालिका-९ बसपार्कमा ना.२ ह १२२३ नम्बरको टेम्पु अनियन्त्रित भई दुर्घटना हुँदा टेम्पुमा सवार बरहथवा नगरपालिका-५ घर भई मलंगवा नगरपालिक-४ डेरा गरी बस्ने ३५ वर्षीय रवि मेस्तरको घटनास्थलमै मृत्यु भएको छ ।
टेम्पु चालक फरार रहेकोले प्रहरील खोजी गरिरहेको छ ।यसैगरी नुवाकोट, ककनी गाउँपालिका-४ स्थित सडकमा बा.२ क ६३६३ नम्बरको टिफर सडकबाट करिब ३ सय मिटर तल खसेर घरको छानामा पर्दा गम्भीर घाइते भएकी घरमा सुतिरहेकी ५८ वर्षीया माइली माया तामाङको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका टिफर चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी मकवानपुर, हेटौंडा भिमफेदी गाउँपालिका-१ स्थित सडकमा बा.७ च ३८४८ नम्बरको कारले बा.४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय बिबेस तामाङको छाउनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सिन्धुली, सुनकोशी गाउँपालिका-५ भोटेखोलास्थित सडकमा प्रगतिशील माध्यामिक विद्यालय रातामाटाको ना.३ ख ३५२० नम्बरको गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्कीएर कक्षा ९ मा अध्यनरत रामेछाप खाडादेवी गाउँपालिका-३ बस्ने रामजी श्रेष्ठका छोरा १४ वर्षीय रमिस श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।