काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नाम सिफारिस गरेको छ ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बिहिवार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु तारिणी लम्साल, शैलेस थापा क्षेत्री र हरीबहादुर पाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस गरेको हो ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बरियतामा पहिलो, दोश्रो र तेस्रो नम्बरमा रहेका उनीहरुलाई सोही बरियता अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस गरिएको छ ।
बढुवा सुचीको पहिलो नम्बरमा रहेका तारिणी लम्साल हालका प्रहरी महानिरीक्षक (आईजी) ठाकुर ज्ञवालीसंगै २०४७ असार २५ मा प्रहरी निरिक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् । उनीसँगै एकै मितिमा सेवा प्रवेश गरेका सुर्य उपाध्याय प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवामा पछाडी परेकाले एआईजी बढुवामा अटाएनन् । लम्साल सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत छन्।
पहिलो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका लम्सालले ३० बर्षे सेवाहदका कारण आगामी असार २४ मा अनिवार्य अवकाश पाएपछि भावी प्रहरी महानिरीक्षक (आईजी) को लागि थापा र पालबीच प्रतिस्पर्धा हुनेछ ।
उनीहरू दुबैजना २०४९ बैशाख १९ मा प्रहरी निरिक्षक (इन्स्पेक्टर) बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अधिकृत हुन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा आफ्नो ब्याचबाट पहिलो नम्बरमा बढुवा सिफारिस भएका शैलेस थापा (क्षेत्री) लाई नेपाल प्रहरीको भावी (२८औं) प्रहरी महानिरीक्षक (आईजी) रुपमा हेर्न थालिएको छ । थापा नेपाल प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारीमा छन् भने पाल विशेष ब्यूरोको प्रमुख छन् ।
एआईजीको दरबन्दी कम भएका कारण थापा र पालसंगै डीआईजीमा बढुवा भएका निरजबहादुर शाही, प्रध्युम्न कार्की र सुर्यप्रसाद उपाध्याय एआईजी बढुवा सिफारिसमा परेनन् । डीआईजी उपाध्याय ३० बर्षे सेवाहदका कारण आगामी असार २४ मा अनिवार्य अवकाशमा जानेछन् ।
हेर्नुस सिफारिस सुची :